२२फागुन,होलेरी । दाङको घोराहीदेखी रोल्पाको होलेरीसम्मको ३० किलोमिटर सहिदमार्ग सडक फागुन २४ गते बन्द हुने भएको छ ।

घोराहीमा रहेको सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा बोक्ने टिप्परका कारण सडक भत्किएको स्थानीयवासीको आरोप छ । स्थानीयहरले केही समयदेखि सडक सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

रुन्टीगढी गाउँपालिका ५ स्थित नयाँगाउँ धौलाबाङ भन्ने ठाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगमा सहिदमार्ग हुँदै टिप्परहरूले चुनढुंगा ढुवानी गर्ने गर्दछन् ।

टिप्पर गुड्नको लागि उद्योगहरूले छुट्टै सडक छैन । सहिदमार्ग सुधार संघर्ष समितिले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो माग ध्यानकर्षण गराउन फागुन २४ गतेका दिन सम्पूर्ण यातायातका साधन बन्दको आव्हान गरेको छ ।

चुनढुंगा ढुवानी गर्ने साधनको हकमा भने अर्को सूचना नहुञ्जेलसम्म बन्द कायमै रहने सहिदमार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्का द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ।

शान्तिपूर्ण ढंगले नागरिकको मागलाई राख्दा समेत कुनै पनि सुनुवाई नहुँदा हामी नागरिकको मागलाई सम्बन्धित निकायमा ध्यान केन्द्रित गर्न पूर्व निर्धारित कार्यक्रम बमोजिम घोराही होलेरी सडक बन्द गर्नु परेको जनाइएको छ ।