हाम्रो समाज पुरुषप्रधान छ। कथित पितृसतात्मक  संरचनामा महिलाहरुलाई दोस्रो दर्जाको हैसियतमा राख्नको लागि अझै कुनै पनि कसुर बाँकि राखिएको छैन। महिलाहरु ग्रामीण भेगमा मात्र पिल्सिएका हाेइनन्, सहरमा पनि महिला हिंसा अत्याधिक छ। महिलामाथि नै सामुहिक बलात्कार, बोक्सीको आरोपमा दुव्र्यवहार, बेचबिखन भइरहेको छ। महिला यौन शोषण अनि अहिलेको भयानक अपराध महिलामाथि एसिड आक्रमणले सिंगाे समाजलाई नै हिलाे छ्याप्ने काम भइरहेको छ।

एसिड वा तेजाब आक्रमण

एसिड फ्याल्नु वा एसिड आक्रमण कुनै मानिसलाई मार्ने, कुरुप बनाउने वा अङ्गभङ्ग गर्ने उदेश्यले उसको शरीरमा एसिड(अम्ल) फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो। पछिल्लो समयमा नेपालमा एसिड आक्रमणको घटना बढेका छन्। जसबाट धेरैजसो किशोरीहरु पिडित हुने गरेका छन्।

विश्वमा सन् १९६७ मा बाङ्लादेशमा एसिड आक्रमण पहिलो घटना थियो। अझै पनि बाङ्लादेश यो अपराधमा अग्रपंक्तिमा छ। सन् (१९९९- २०१३) तथ्यांकअनुसार यहाँ ३५१२ तेजाब आक्रमणको सिकार भए। छिमेकी मुलुक  भारतमा  हरेक वर्ष लगभग २५० देखि ३०० सम्मका घटना भारतमा हुँदै आएका छन्। सरकारी तथ्यांकअनुसार नेपालमा भने सन् २०१४ देखि हालसम्म २२ वटा एसिड आक्रमणका घटना भएका छन्, जसमध्ये १८ महिला र ४ जना पुरुष रहेका छन्।

नेपालमा पहिलाे पल्ट सन् २०१५ मा एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थी संगिता मगर र सिमा बस्नेतलाई बसन्तपुरमा  उनीहरुकै शिक्षकद्वारा एसिड आक्रमण भएको थियो। २०१९ सेप्टेम्बर ७ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुन माथी प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनकै छिमेकीबाट एसिड आक्रमण भयो।

२०२० मे १६ मा २० वर्षीय किशोरी जेनी खड्कामाथी एसिड आक्रमण भयो। २०२०  जुलाई ७ मा पबित्रा कार्कीमाथी काठमाडाैंमा एसिड आक्रमण भयो। उनले ती अपराधीसँगै एक घण्टा अघि सँगै चिया पिएकी थिइन्।

एसिड आक्रमणमा कुन रसायन प्रयोग गरिन्छ?

कुनै मानिसले अरुको शरीरमा अङ्गभङ्ग बनाउने वा मार्ने उदेश्य राखी प्रहार गर्दा यसमा प्रयोग हुने  Nitric acid(HNO3), Sulphuric Acid (H2SO4), Hydrochloric Acid (HCL), Caustic Soda (NaOH) रसायनहरु मुख्य रसायन हुन। यी वस्तु बजारमा सजिलै उपलब्ध हुने गरेका छन्। मानिसको शरीरमा पर्ने रसायनहरु Acid Base Oxidiser, Cytotoxic agent जस्तै Mustard gas, र Lewisite पर्छन्। यसको पोलाई आगोले पोलेको भन्दा फरक हुन्छ। किनभने यसलाई तापको श्रोत चाहिँदैन। पर्नेवित्तिकै पोल्न सुरु गर्छ। तत्काल थाहा नपाउन पनि सकिन्छ। एकदमै पिडादायी हुन्छ।

एसिड आक्रमणका कारणहरु

वैवाहिक वा प्रेम प्रस्ताव अस्विकार गर्दा, यौनसम्पर्क राख्न नचाहँदा, दाईजोको मामिला वा अन्य सामान्य झगडामा महिलाले स्कुल जादा बुर्का नलगाउँदा (मुस्लिमहरुमा), जग्गा जमिन माथिको अधिकारको लागि बदलाको भावना पैदा हुँदा, फितलो कानुनी व्यवस्था एसिड आक्रमण हुने गरेका छन्।

एसिड आक्रमणका असरहरु  एसिड आक्रमणका कारण पीडितमा शारीरिक, मानसिक, सामाजिक र मनोवैज्ञानिक असर पर्ने गरेको पाइन्छ। शरीरमा यसको असरको मात्रा प्रयोग गरिएको एसिडको गाढापनमा भर पर्छ।

कडा तेजाबले छालाको तन्तुहरुलाई नस्ट गर्ने, हड्डीलाई गलाउने, स्थायी रुपमा अन्धो बनाउने, मुख र नाकलाई नस्ट गराइ अनुहार विगार्ने, छाला सोरिने  आदि हुन सक्छ। भौतिक असर बाहेक मानसिक र सामाजिक असरको झन् बयान गरि साध्य हुँदैन।

एसिड आक्रमण समस्याका  समाधान

एसिड आक्रमण रोक्न, एसिड अवैध रुपमा किनबेच गर्नेलाई कारबाही गर्नुपर्दछ।  सम्बन्धित संस्था, निकायको स्वीकृति बिना किनबेच गर्ने काममा प्रतिबन्ध लगाउनुपर्छ। एसिड आक्रमणबारे सचेतना कार्यक्रमहरु सार्वजनिक स्थल तथा विद्यालयहरुमा संचालन गर्नुपर्दछ।

किशोर अवस्थामा रहेका युवाहरुलाई हर्मोनल चेन्ज बारे शिक्षक निरन्तर र मनोचिकित्सकले बेलाबेलामा परामर्श दिइराख्नु पर्दछ। एसिड आक्रमणमा परेका छोरीचेलीलाई सरकाले आत्मरक्षाको तालिम र जनचेतना र महिलाको सुरक्षामाथी सक्रिय भुमिका निर्वाह गर्न सक्नु पर्दछ।

कानुन

केहि समय अगाडि प्रधानमन्त्रीले नै यस अपराध विरुद्ध कडा कानुन ल्याउन निर्देशन दिई सम्बन्धित निकायले तत्काल काम थालेर अध्यादेश पनि जारी भइसकेको छ। एसिड आक्रमणको कारण मृत्यु भएकोमा जन्मकैदको सजाय, मुख्य अंगहरु आँखा कान मुख छाती र योनाङ्ग क्षति भएमा २० वर्ष, अन्य अंगमा घाउचोट लागेमा १५ वर्ष, शरीरको कुनै पनि भागमा एसिडले छोएमा न्युनतम १० वर्ष जेल सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेलाई धरौटीमा रिहा या आम माफी लागु हुने समेत नियम रहेको छ।

एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने, खुला रुपमा वितरण गर्न पूर्ण बन्देज गर्ने। एसिड  आक्रमणमा परि घाइते हुनेहरुलाई उपचार सरकारले नि:शुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ।

अन्तमा: यस्तो विश्वव्यापी आतंकको रुपमा रहेको एसिड आक्रमणको घटना र तत्सम्बन्धी आएका समाचारहरुलाई हामीले हल्का रुपमा कदापी लिनु हुँदैन। अत: सबै पक्षबाट यस्तो स्थिति दोहोरिन नदिन प्रभावकारी पाइला चालिहाल्नुपर्ने देखिन्छ।

यस्ता घटना सिकार किशोरहरु/महिलाहरुको  उपचार अनि सामजिक पुनर्वासका लागि सरकारले पनि सोच्नैपर्ने हुन्छ। सर्वाधिक एसिड आतंक छाएको बाङ्लादेशमा सन् २००२ देखि विभिन्न गैरसरकारी संस्थाहरुको सत्प्रयासका कारण यस्ता घटनामा न्यूनीकरण हुँदै आएको वास्तविकतालाई बिर्सन मिल्दैन। यो हामी सबैले गम्भीरताका साथ मनन गर्नुपर्ने सामजिक महत्त्वको विषय हो।   विएल नेपाली सेवा