२५ फागुन, काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन हुने बताएको छ ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

यसअघि बोर्डले सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपटक सम्वन्धित स्कूलले नै जिम्मा लिन लगाउने निर्णय भएको बोर्डका जनाएको छ ।