४चैत्र,काठमाडाैँ ।  यो अर्को कथा गडीगाँउकै हो। गुठीचौर गाउँपालिका- १ पाडा गडीगाउँको। हरेक गाउँहरुजस्तै गडीगाउँको पनि छुट्टै खालको विशेषता छ।

त्यहाँका मान्छे मौरीजस्तै मेहनती छन्। त्यसैले त मैरीलाई समेत आफ्नो कावुमा राख्न सकेका छन्। गडीगाउँका रुमबहादुर बस्नेतको उमेर बढ्दै गएको छ, अनुहार मुजा पर्दै गएको छ तर जाँगर बुढाएको छैन। सुन पुरानो नभएजस्तै उनी बूढो भएका छैनन्। तन्दुरुस्त छन्। सायद महले ताकत दिलाएको छ।

जाडो छेक्न भेडाको ऊनको स्वीटर लगाएका छन्। अर्को स्वीटर बुनिरहेका पनि छन्। मौरीको चाकामा मह पुरिएझैं एक–एक घर (प्वाललाई) पुर्दै स्वीटर बढिरहेको छ।

घरवरिपरी मौरीका घार छन्। पर्खाल लगभग देखिँदैन, घार मात्र देखिन्छ। गाउँ पुग्दापुग्दै अनुमान लाउन गाह्रो पर्दैन, उनी मौरीपालक किसान हुन।

गाउँको लागि साना होइन ठूला किसान। जसबाट उनी वर्षमा डेड लाखदेखि दुई लाख आम्दानी गरिरहेका छन्। दुबोजस्तै जेलिएका छन् मौरीका घार। गनेरभन्दा दुई सय वटा घार छन्। त्यसमध्ये ३२ वटामा मौरीले घरबार जोडेका छन्।

‘एक घारबाट छ–सात माना मह आउँछ,’ उनले भने, ‘भयाको वर्ष दुई सय मानासम्म हुन्छ। नभयाको वर्ष मौरी बचाउन हैरान हुन्छ।’बाँकी रहेका घारमा पनि मौरी पालेर व्यवसाय बढाउँदै जाने उनको योजना छ। हरेक वर्ष मौरीको भेर (समूह) फाट्छ।

त्यही बेला मौरीलाई अर्को घारमा राख्न सक्यो भने डबल हुन्छ। ३२ घार भएको उनको व्यवस्थापन राम्रो हुन सकेको खण्डमा एक वर्षमै दोब्बर भइहाल्छ।

हरेक वर्ष मौरीको समूहमा एक नयाँ रानीमौरी थपिन्छ। एउटै घरमा दुईवटा रानी हुने भएकोले भेर फाट्छ। त्यसलाई छोप्न सकियो भने। अर्को घार मौरी बढीहाल्छ।

हिमालको प्रकृतिपूजक समुदाय देउतालाई बढी विस्वास गर्छ। पुर्णिमामा देउता पुज्ने बेला धामीले एकको एक्काइ हुनु भनेर आसिस दिन्छन्। सुरुमा एक घार मात्र मौरी पालेका उनलाई देउताको आसिस लागेझैं मौरीपालन व्यवसाय फलिफाप भएको छ।

मैरीका भेरजस्तै उनको घर परिवार पनि ठूलो छ। एक हिसाबले डाँडाकाँडा ढाक्ने सन्तान छन्। त्यही घरमा पाथो (पाथी, चार माना भरिने भाँडो) जस्तै भरिएको छ, मह। ‘मेरो झान (जहान), परिवार ठुलो छ।

छ भाइ छोरा छन्। १२ नाति र ११ नातिनी छन्,’ जति तान्यो उती छोटो हुने चुरोट तान्दै गरेका उनले एक सर्को धुँवा माथिमाथि आकाशतिर उढाउँदै उनले भने, ‘ती सबैलाई खुवाएर। आफन्त, इष्टमित्रलाई चखाएर वर्षको डेड दुइ लाखा आम्दानी हुन्छ।’

जुम्लीहरु एक सिजनमा मात्र मह काड्न पा‌उँछन्। उसो त मौरीले मह असारमा पनि लगाउँछ। तर त्यतिबेला मौरीले चल्ला जन्माउने हुँदा मह काडिन्न। त्यत्तिकै राखिन्छ। कार्तिकमा चल्ला हुँदैनन्। विशुद्ध मह हुन्छ।

उनी एक मानो मह १५ सय रुपियाँमा विक्री गर्छन्। हामीले यति महंगो किन भनि सोधेको प्रश्नमा उनको जवाफ छ, ‘ज्याकै(जुनसुकै चिज) महंगो छ। जंगलको जडिबुटी झन् महंगो छ। मौरीले ती सबै जडिबुटी, बिख खाएर, पचाएर मह लाएको हुन्छ। त्यो मह साह्रै राम्रो हुन्छ। त्यही भएर महंगो छ।’

जुम्लामा उत्पादन हुने मह उच्च गुणस्तर हुने मौरी अनुसन्धान केन्द्र गोधावरीका अधिकृत धन बहादुर रावत बताउँछन्। ‘अरु ठाउँमा तीन पटकसम्म मह निकाल्न सकिन्छ। जुम्लामा एक पटकमात्र निकालिन्छ,’ उनले भने, ‘नेपालभर पाइने महमा जुम्लाको सबैभन्दा उच्च गुणस्तरको छ।’

रुम बहादुरको मह महंगो भएपनि बजारको समस्या छैन। गाउँमै एक मानो दुई माना गरी बिक्री भइहाल्छ। त्यसमाथि जुम्लाको मह शक्तिबर्दक रहेको उनको दाबि छ। मौरी हजार किलोमिटर टाढासम्म गएर आहाराको खाेजी गर्न सक्छ। गडीगाउँको चरन क्षेत्र मौरीलाई नजिकै पर्छ।

‘नजिकै पाटन छ। सयौँ किसिमका फूल छन्। बिख लगायत जडीबुटीको रस पचाउने मौरीले बनाउने मह खाँदा ताकत बढ्छ।’ उनले यति भन्दै गर्दा दिउसको पारिलो घाममा मौरी भुनभुनाउँदै थियो। विएल नेपाली सेवा