५ चैत्र,काठमाडौँ। इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २/० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

चेल्सी समग्रमा ३/० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १/० ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि चेल्सी सन् २०१३/१४ मा क्वाटरफाइनलमा पुगेको थियो ।