विश्वको सर्वोच्च वीरता पुरस्कार ‘भिक्टोरिया क्रस’ को पर्यायवाची गोर्खाली सेनालाई मान्दा अतिशयोक्ति नहोला।

पहिलो र दोस्रो विश्वयुद्धमा हाम्रा पूर्खा गोर्खा सैनिकले वीरतापूर्व लडे। यसैको उपज हो- गोर्खा सैनिकले पाएको अदम्य साहसको परिचायक ‘भिक्टोरिया क्रस’।

तत्कालीन ब्रिटिश–भारतको अधीनमा रहेका भारतीय सेनामा सबैभन्दा बढी ‘भिक्टोरिया क्रस’ हाम्रै पूर्खाले पाए। म आफै भूतपूर्व सिपाही हुँ। जो २-५ गोर्खा राइफल्स (जिआर) मा कार्यरत थिए। सन् १९७१ को बंगलादेशको युद्धमा मैले पनि भाग लिएको थिए। मेरो पल्टन ५ गोर्खा राइफल्सको दोस्रो बटालियन हो। छोटकरी नाम २-५ गोर्खा राइफल्स।

ब्रिटिश तथा भारतीय पल्टनबीच दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने श्रेय यही पल्टनलाई छ। तीनजना वीर योद्धा सुबेदार नेत्र बहादुर थापा (मरणोपरान्त), हवल्दार गजे घले अनि नायक अगमसिंह राईले ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका थिए। गोर्खा राइफल्स छाडेर भारतीय सेनामा सबैभन्दा बढी यही पल्टनले तीनवटा भिक्टोरिया क्रस प्राप्त गरेको छ।

यो ऐतिहासिक सफलता २-५ जिआरलाई मात्र प्राप्त छ।

म सन् १९६९ मा सिपाही भएर यो पल्टनमा आवद्ध हुँदा हवल्दार गजे घले सुबेदार मेजर भएर मानार्थ कप्तानको पद पाउँदै सेवानिवृत्त भइसकेका थिए। नायक अगमसिंह गिरी म बंगलादेशको युद्धमा संलग्न हुनुअघि सुबेदार मेजर भएर सेवानिवृत्त भए।  दुईवटा विश्व युद्धमा हाम्रा पूर्खाले देखाएको वीरतापछि अंग्रेजी लेखकले पनि मानेका छन्, ‘‘गुर्खा विश्वकै सबैभन्दा वीर जाति हो।’

गोर्खाहरूले बेलायतको अधिनमा रहेर दुईवटा मूख्य युद्ध लडे। युद्धका घाउँ, छाउनीको परिवेशलगायत यावत अनुभव बटुले। तर, युद्धको विषयमा कुनै पुस्तक लेखेनन्। नेपाली साहित्य कहिले ‘आयामेली लेखन’, कहिले ‘लीला लेखन’ त कहिले ‘विनिर्माणवाद’ जस्ता वादलाई स्वीकार गर्दै आज ‘उत्तर आधुनिककाल’ मा प्रवेश गरिरहेको छ। तर गोर्खालीले दुईवटा विश्व युद्ध लड्दा पनि ‘युद्ध साहित्य’ ले स्थान नपाउनु आत्मसमीक्षाको विषय हो।

बेलायती तथा अमेरिकी लेखकले गाेर्खालाई लिएर धेरै पुस्तक लेखिसकेका छन्। र, उनीहरूले गाेर्खाको बहादुरीको लेख लेखेर करौडौं रूपैयाँ पनि कमाएका छन्। तर, हामीसँग ‘भिक्टोरिया क्रस’ पाएकोमा गर्वित भएर छाती फुलाउनु बाहेक अरु केही छैन।

कुनै बेला यसरी नै भिक्टोरिया क्रस पाएका गोर्खाहरू छातीमा यो तक्मा झुण्डाएर फर्केका थिए। तर, उनीहरूसँग फुर्कनुबाहेक अरु केही थिएन। उनीहरूले यो जान्न पनि खोजेनन्–‘भिक्टोरिया क्रस’ कुन धातुबाट निर्मित हुन्छ? यसको विश्व बजारमा मूल्य कति पर्छ?

जुन जातिले यति ठूलो लडाईँ लड्यो र युद्धको आफ्नो अनुभवलाई कागजमा लिपिबद्ध गर्न सकेन, त्यो जातिले ‘भिक्टोरिया क्रस’ कुन धातुबाट निर्मित भएको हो? भनेर जान्ने कुरा पनि भएन।

एकछिनका लागि मानौं, भिक्टोरिया क्रस’ सुनारे कहाँ बेच्न लगियो भने उसले त्यसको के मूल्य देला? निश्चय नै उसले लाखौँ रूपैयाँ दिने छैन। कारण यो तक्मा न सुनले भरिभराउ छ, न चाँदीले नै। तक्मा गलाए मोल झन् घट्ने छ। तर सुन वा चाँदीलाई गलायो भने यसको मोल घट्दैन।

आखिर भिक्टोरिया क्रस कुन धातुले बनेको हो? यसबारे पनि रोचक कथा छ।

सन् १८५४–५५ मा बेलायत र रुसबीच युद्ध छेडिएको थियो। जुन युद्धमा रुसले नराम्रो हार बेहोर्यो। युद्ध रुसको क्रिमियामा भएको थियो। त्यसैले यो युद्धलाई ‘क्रिमियन वार’ भनेर सम्बोधन गर्ने गरिन्छ। क्रिमियाको राजधानी त्यति बेला सोभास्तोपोलमा थियो।

रुसको पराजयपछि बेलायती सेनाले सेभास्तोपोलमा रहेको रुसी सेनाको तोपहरू खोसेका थिए। भनिन्छ– युद्धमा सिँत्तैमा भेटेको यिनै काँसका तोपबाट ‘भिक्टोरिया क्रस’ नामक तक्मा बनाइएको हो। यो तक्मा न सुनको हो, न चाँदीको। यसको पुष्टि ‘दि गुर्खाज’ नामक पुस्तकका लेखक ब्यरोन फारवेलले गरेका छन्, जुन पुस्तकको प्रथम संस्करणको पृष्ठ संख्या १५०–५१ मा।

यो प्रसंगको उठान उनले त्यति बेला गरेका थिए, जब दोस्रो विश्वयुद्धमा सुबेदार नेत्रबहादुर थापा सहिद भएपछि उनको नाममा दिइएको ‘भिक्टोरिया क्रस’ लिन नेपालमा रहेकी उनकी विधवा भारत पुगिन्। भारतका तत्कालीन फिल्ड मार्शल (भायसराय) विसकाउण्ट ववेलले सहिद पत्नी नमसरा थापालाई ‘भिक्टोरिया क्रस’ प्रदान गरेका थिए।

मैले शिलोङमा गोर्खाको आगमन अनि बसोबास शीर्षकमा एउटा लेख लेखेको थिएँ, जुन लेख बीएल नेपाली सेवाले प्रकासित गरिसकेको छ। उक्त लेखमा ८ गोर्खा राइफल्सको पहिलो बटालियनको प्रसंग पनि छ, जुन पल्टनलाई ४४ गोर्खा पल्टन पनि भनिन्थ्यो। यही पल्टनमा कप्तान कालु थापा पनि संलग्न थिए।

सन् १८६७ मा विश्वको सबैभन्दा अधिक वर्षा हुने ठाउँ चेरापुञ्जीबाट बसाइँ सरेर शिलोङ आउँदा गोर्खाको कुरा छोडौं, यस ठाउँमा ‘एउटा मूसा पनि थिएन’ भन्ने कुरा कालु थापाले व्यक्त गरेका थिए।

मूसाको कुरा लेफ्टनेन्ट कर्णेल एचजे हक्सोेर्डद्वारा लिखित ८ गोर्खा राइफल्सको इतिहासमा छ। यही ८ गोर्खा राइफल्सको पहिलो बटालियनमा थिए सुबेदार करवीर पुन। यो बटालियन अहिले ८ गोर्खा पल्टनमा छैन। मेकनाइज्ड इन्फेन्ट्रीमा सारिएको छ र नाम भएको छ–‘३ बटालियन मेकनाइज्ड इन्फेन्ट्री रेजिमेन्ट, १-८ गोर्खा राइफल्स’।

पहिलोे विश्व युद्ध भन्दा अगाडि भारतीय सेनाभित्र पर्ने कुनै पनि पल्टनका सैनिकलाई उनको अदम्य साहसका लागि ‘भिक्टोरिया क्रस’ दिइने चलन भएको भए भारतीय सेनामा सबैभन्दा पहिला ‘भिक्टोरिया क्रस’ सुबेदार करवीर पुनले पाउने थिए।

पहिलो विश्व युद्ध भन्दा अगाडि देशबाहिरका व्यक्तिलाई ‘भिक्टोरिया क्रस’ दिने घोषित नियम बनिसकेको थिएन, बेलायती सरकारको। यसैले ‘भिक्टोरिया क्रस’ को सट्टा उनलाई बेलायती सरकारले भारतीय सैनिकलाई दिइने सर्वोच्च वीरता पुरस्कार ‘इण्डियन अर्डर अफ मेरिट’ बाट सम्मान गर्यो।

त्यति बेला करवीर हवल्दार थिए। उनीसँगै मिलेर युद्ध लडेका बेलायती अफिसर लेफ्टनेन्ट जे. डी. ग्रान्टलाई भने ‘भिक्टोरिया क्रस’ प्रदान गरिएको थियो। यिनीपछि लेफ्टनेण्ट कर्णेल भए।

करवीरले पाएको वीरताको पुरस्कार

सन् १९०४ मा उक्त पल्टनले तिब्बतको ग्यान्सी भन्ने ठाउँमा ६ हजार तिब्बतीसँग युद्ध गर्नु पर्‍याे। यो युद्धको नाम थियो– यङ हजबेन्ड्स एक्सिपडिसन।

तिब्बतीले ‘ग्यान्सी दुर्ग’ अर्थात् ‘फोर्ट’ (जोंग) को रक्षा गरिरहेका थिए। यो दुर्गलाई जसरी पनि उक्त पल्टनले आफ्नो पक्षमा लिनु थियो। दुबै पक्षबीच गोलीबारी चलिरहेको बेला बेस्सरी घाइते भएपनि ६ जुलाई १९०४ मा लेफ्टनेन्ट जे. डी ग्रान्ट र हवल्दार करवीर पुन किल्लामा प्रवेश गरे।

यी दुबैको अद्तीय साहस र वीरताले गर्दा उक्त पल्टन ‘ग्यान्सी दुर्ग’ लिन सफल भए। यसैका लागि उनीहरूलाई पुरस्कृत गरिएको थियो। यही लडाइँको सम्झनामा प्रत्येक वर्ष ६ जुलाईका दिन विजय दिवसको रूपमा ‘ग्यान्सी डे’ मनाने प्रचलन छ।

लेफ्टनेन्ट. जे. डी. ग्रान्ट र सुबेदार करवीर पुनको अवर्णनीय याेगदानकाे विषयमा इतिहास जानकार छ। तर शिलोङ बाहिरका नेपालीभाषीको कुरा छाडौँ, यहीँ शिलोङका गोर्खे समाजका अधिकांश सदस्य सुबेदार करवीर पुनबारे बेखबर झैं बनेका छन्।

करवीरले १९१० मा शिलोङमा देह त्याग गरेका थिए। उनको समाधि शिलोङको ‘गोर्खा श्मशानघाट’ भित्र अझसम्म जीर्ण अवस्थामा विद्यमान छ।  यस्तै अवस्था रहे, भन्न सकिन्न कालान्तरमा उनको समाधि यहाँको ‘गोर्खा श्मशानघाट’मा रहनेछ कि छैन? कारण गोर्खालीहरू आफूलाई ‘वीर जातिको सन्तान“ त मान्छन् तर पुर्ख्याैली निधिको संरक्षण गर्न भने जान्दै जान्दैनन्।  विएल नेपाली सेवा