मानवीय भोगाइ सकारात्मक पनि हुन्छन्, नकारात्मक पनि हुन्छन्। त्यसैले सकारात्मक भोगाइहरुलाई जिन्दगीको रथ बनाउनुपर्छ भने नकारात्मक भोगाइका क्षणबाट ज्ञान प्राप्त गरी जिन्दगीलाई रुपान्तरण गर्नुपर्छ।

मानव जाति गल्तीको भण्डार हो। गल्ती नगर्ने मानव हुँदैन। अनि गल्तीलाई नसच्याउने पनि मानव हुँदैन। कानूनले अपराधीलाई सजाय दिलाउने र पीडितलाई न्याय दिलाउले काम गर्नुपर्छ।

कहिलेकाहीँ इमानदार सोझा व्यक्तिहरुलाई  झूटो आरोप लगाएर दण्डसजाय दिएको हुन्छ। त्यो प्रवृत्ति  असफल राष्ट्रको खस्किदो शासन व्यवस्थाले गर्दा नै हो।

इतिहासको कालखण्डमा पटक–पटक क्रान्ति र परिवर्तन भए। त्यसबाट आंशिक रुपमा केही परिवर्तन भएको देखिन्छ। विडम्बना, शासन व्यवस्थामा आमूल परिवर्तन हुन सकेन। नेपालीले चाहेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको ग्यारेन्टी दिने राज्य व्यवस्था हुन सकेन।

राज्य हरेक पाटोमा आत्मनिर्भर नभएर परनिर्भरको इतिहास बिताइरहेको देखिन्छ। मित्रराष्ट्रसँग भीख मागिरहेको देखिन्छ। सबै राज्यका उत्पादनमूलक ठाउँहरुलाई यथास्थितिमा राखेर कचौरो थापेर राष्ट्रको गुजारा चलाइरहेको छ।

छिमेकी राष्ट्रको दासत्वबाट मुक्त हुनुपर्छ। नव उपनिवेशबाट मुक्त हुनुपर्छ। त्यसका लागि गतिलो शासन व्यवस्था चाहिन्छ भनेर लागेका हजारौं परिवर्तनकारीहरुले जेलजीवन बिताइरहेका छन्। यस्तो कदम चाल्नु नै दलाल पूँजीवादी संसदीय व्यवस्थाको चरित्र हो।

शिक्षा नि:शुल्क हुनुपर्छ। स्वास्थ्य नि:शुल्क हुनुपर्छ। समुन्नत समाज अबको आवश्यकता हो भनेर कक्षा ११ र १२ को परिक्षामा अनियमित शुल्क असुल्नु हुँदैन भनेर आवाज उठाउँदा परीक्षा हलबाट कलम समात्ने हातमा हत्कडी थमाएर तल्कालै मंसिर २८ गते मैले जुम्ला जिल्ला हिरासतको अध्यारो बन्दी कोठामा एक महिना बिताउनुपर्योद। झूटा मुद्दामा दण्डित हुनुपर्यो।

झझल्को आउँछ ती हिरासतका पलहरु। कथित सरकारलाई प्रश्न गर्न मन लाग्छ– कति दिन जनताका छोरा चल्ला हुने र असफल व्यवस्था चील हुने?

श्रमजीवी वर्गभित्रका तालिमप्राप्त दैनिकी जीवन गुजारिरहेका नेपाल प्रहरी दाजुभाइलाई सुझाव दिन मन लाग्छ, ‘तिमीहरू पनि परिवर्तन हुन जरुरी छ। तिमीहरूको व्यवहारमा परिवर्तन हुन आवश्यक छ। अब अचेत हैन, सचेत हुन जरुरत छ। मुखमा ताल्चा लगाउन र संस्कार सिक्न आमूल परिवर्तन हुन नित्तान्त आवश्यक छ।’

हामी श्रमजीवी वर्गको हितको लागि शासकहरुको होशहराम गर्ने योद्धालाई झूटा मुद्दा लगाएर फसाउनुको विकल्प देशका गरिब जनताको रगत चुसेर मोटाएका जुकालाई सजाय दिने साहस गर्न जब सकिँदैन, तबसम्म वर्गीय मुक्ति हुन सक्दैन।

त्यतिबेला दुई तिहाइको कम्युनिष्ट सरकार हुँदै गर्दा हिरासत भित्र मार्क्सवादी किताबहरु पढ्न मनाई रहेछ। विप्लव भन्ने भूतले सताएको रहेछ। मलाई प्रश्न गर्ने मन लाग्छ यो सरकार राणाहरुको हो कि त्यसको देखासिकी गरिरहेको कुनै कागजी बाघको ? गल्ती गरेपछि सजाय भोग्नुपर्छ– त्यो कुनै राष्ट्रपति होस् मन्त्री होस् वा प्रधानमन्त्री होस्।

यहाँ मुठ्ठीभर शासकले आफूअनुकूलको व्यावहारिक नीति लादेका हुन्छन्। सबैलाई एकै दर्जामा राख्न त सकिदैन के? प्रहरी जवानको जागिर खाएर लागूऔषध बेचबिखन गर्नु न्यायिक हो? के लागुऔषधमा संलग्न प्रहरीले अन्य कैदीलाई भौतिक यातना दिनुपर्छ भनेर संविधानमा लेखिएको छ? के मृत्यु हुने गरेर यातना दिनु पाइन्छ? मृत्युलाई पूँजीले किनबेच गर्ने भनेर कानुनी धारामा लेखिएको छ?

यहाँ शक्तिका पूजारी छन्। शक्तिका अगाडि अदालतले पनि पूँजीलाई प्रमुख बनाउने रहेछ। उल्टाका सुल्टा सुल्टाका उल्टा पूँजीअनुकूलको बयान, यी सबै घृणित क्रियाकलाप पूँजीवादको नाङ्गो चरित्र ऐनाझै छर्लङ्ग भएको छ। यसलाई परिवर्तन गर्न सचेत व्यक्तित्वहरुको महत्त्वपूर्ण भूमिका रहन्छ र हुनुपर्छ।

वर्तमान परिवेशमा दिनानुदिन देशभित्र प्रत्येक जिल्लाभित्र हत्या, हिंसा, बलात्कार, विकृति, विसंगति मौलाएको छ। यो शासन व्यवस्थाले सत्यतथ्य निचोड निकालेर बेलैमा कानुनी दायरामा ल्याउन नसक्नु समाजलाई जङ्गली जनावरतिर धकेल्नु हो।

हुनत यो व्यवस्थामा जे भनिन्छ, त्यो गरिँदैन। जे गरिन्छ, त्यो भनिँदैन। सरकारभित्रकै मान्छेबाट ठूल्ठूला काण्डहरु भएका छन्। बावु कानूनमन्त्री छ भने छोरो लागूऔषध खाएर झुम्म परेको हुन्छ वा दुई नम्बरको धन्दा गरिरहेको हुन्छ।

बाबु राजनीतिको कुलतमा भासिएको देखिन्छ भने छोरो जनताको छोराछोरीलाई जहर वितरण गरेको हुन्छ। त्यसैले दलालको कानूनी राज्यमा मूललाई सफा गर्नु अबको आवश्यक हो।

देशभक्त, न्यायको लागि लड्ने प्रतिकलाई होइन, वर्गीय हितको लागि लड्ने योद्धालाई झूठा मुद्दा, जुठा अभियोग लगाउने हैन, देशका फटाहा, भ्रष्टाचारी, कमिसनखोरी, घूसखोरी, बलात्कारीजस्ता अपराधिक क्रियाकलाप संलग्न कसिङ्गरलाई सजाय दिनुपर्छ। यसमा हाम्रोतर्फबाट पूरा सहमति छ।

समाजलाई सुधार्नेतर्फ लम्कनुपर्छ। यसमा हाम्रो ज्यान हाजिर छ। देशलाई परिवर्तन गर्नको लागि राष्ट्रिय स्वाधीनताको पक्षमा बलिदान गर्न तयार छौँ भने ‘कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजसरी राज्यका अंगहरु परिचालन भएको खण्डमा रुपान्तरण गर्नु र पूरै परिवर्तन गर्नु अबको विकल्प हो।

विकल्पको रुपमा मुठ्ठीभरको व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी व्यवस्था र त्यसका एजेन्डालाई लागू गर्नुको अर्को भविष्य देखिँदैन। अन्ततः भोगाइलाई ज्ञानको राजमार्ग बनाउनुपर्छ। स्मरणीय क्षण नै  वास्तविकता जीवनमार्गको सिकाइ हो।

(रावत विप्लव महासचिव रहेको नेकपाको राजनीतिमा सक्रिय छन्।)