रोल्पाको उत्तरपूर्वमा अवस्थित सुनछहरी गाउँपालिका पर्यटकीय सम्भावना बोकेको गन्तव्य हो।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता एवम् मिठो आतिथ्यले गर्दा ग्रामीण पर्यटनको प्रचूर संभावना देखिन्छ।

प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम त हुँदै हो, परम्परागत कलाकौशलको भण्डार एवं गुरिल्ला पदयात्राको मुख्य प्रवेशद्वार समेत भएकाले सुनछहरीको विशेष महत्व छ।
प्रदेश नं ५ कै आकर्षक गन्तव्य जलजला यहीँ छ। युद्ध पर्यटनका हिसाबले माओवादी जनयुद्ध स्थलहरू, शहीद गाउँ, छापामारले बनाएका गोरेटा आदि सम्पदा छन्।

त्यस्तै तिलाचन लेक, भिबाङ दह, सिउरीको सुनछहरी झरना, तालतलैया, नदीहरु, वन्यजन्तु आदि यहाँका आकर्षण हुन्। नदीमा रोमाञ्चक जलयात्रा पनि गर्न सकिन्छ।

सुनछहरीमा विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटक पनि आकर्षित हुन सक्छन्। हामी सुनछहरीलाई ग्रामीण पर्यटनको नमुना गन्तव्य बनाउँदै छौँ। अब कुरा गरौँ, ग्रामीण पर्यटनको। हाम्रो ग्रामीण पर्यटन धर्म, प्रकृति र संस्कृतिमा आधारित छ।

धुवाँधुलो, फोहोर कोलाहलबाट मुक्त हुन स्वच्छ हावापानी भएका गाउँघर उपयुक्त छन्। त्यसैले गाउँ घुम्नेहरू बढ्दै छन्। ग्रामीण पर्यटनमा होमस्टेले ठूलो सहयोग पुर्यावउँछ।

स्याङ्जाको सिरुवारी गाउँबाट सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको विकास शुभारम्भ भएको थियो। त्यसको सिको गर्दै धेरै जिल्लामा होमस्टे खुलेका छन्। होमस्टेमा पर्यटकलाई पारिवारिक वातावरणमा खानपिन गराइन्छ।

स्थानीय उत्पादनको उपयोग र त्यसको बजारिकरणमा टेवा पुग्छ। अर्गानिक खानपानले पर्यटकको मन जित्छ। साथै सांस्कृतिक कार्यक्रमबाट आम्दानी हुन थालेपछि संस्कृति जोगाउने अभियान पनि सुरु भएको छ।

ग्रामीण पर्यटन विकासको मुख्य आधार होमस्टे हो। प्रकृति, संस्कृति र जीवनशैली देखाएर आम्दानी गर्न सकिन्छ। घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीयस्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनजीवन र मौलिक सांस्कृतिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने व्यवसाय नै होमस्टे हो।

पर्यटकले आफ्नै घरमा बसेको अनुभव गर्छन्। फरक यत्ति हो कि उनीहरूले खाना र बासको पैसा तिर्नुपर्छ। पर्यटनले प्रत्यक्ष आयआर्जन, रोजगारी सृजना र गाउँघरमा उत्पादन भएको वस्तुको खपत गर्न सहयोग पुर्या्उँछ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तुले सही मूल्य पाउने आधार पनि ग्रामीण पर्यटन हो। त्यसबाहेक स्वदेशी तथा विदेशी पर्यटकसँगको अन्तरक्रियाबाट ज्ञान र सीप बाँड्न सकिन्छ।

पर्यटनकै आम्दानीबाट स्थानीयले विकास तथा निर्माणमा समेत योगदान गर्दै आएका थुप्रै उदाहरण छन्। साथै पर्यटन विकाससँगै पशुपालन, माछापालन, तरकारी खेती, हस्तकला निर्माणमा सक्रियता एवम् सृजनशीलता बढेको देखिन्छ।

लोपोन्मुख संस्कृतिको पुनर्जागरणसमेत हुँदैछ। ग्रामीण पर्यटनले पर्यापर्यटन विस्तार, सीप विकास, कृषिमा विविधीकरण र व्यावसायीकरण, जीविकोपार्जनका वैकल्पिक श्रोतको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ।

यसै गरी गाउँघरमै लगानी र पूँजीवृद्धिको वातावरण बढ्ने हुँदा शहरीकरणको चाप पनि घट्ने देखिन्छ। पर्यटकको दृष्टिकोणबाट सबैभन्दा बढी सफल हुनसक्ने क्षेत्र भनेका पदयात्रा पर्यटन, पर्वतीय पर्यटन, कृषि पर्यटन र गाउँ पर्यटन नै हुन्। तर हामी विकास र आधुनिकताका नाउँमा विश्व प्रसिद्ध पदमार्ग भत्काउँदैछौ। क्षतविक्षत पार्दैछौं।

हामी पर्यटन क्षेत्रमा लागेका, पर्यटन क्षेत्रमा तिसौं वर्ष बिताएका, पर्यटन बोर्ड लगायत विभिन्न निकायहरूमा पर्यटनविज्ञका रुपमा नियुक्ति भएका र लामो समयदेखि पर्यटनविज्ञका रुपमा सक्रियहरूबाट नेपालको पर्यटन विकासको प्रमुख धरोहरहरूलाई जोगाउने विषयमा आवाज उठाउनुपर्ने हो।

परिवर्तनको चाहनालाई रोक्न पक्कै पनि सजिलो छैन तर उपयुक्त निकाससहित समाधान निकाल्नु आवश्यक हुन्छ। आजको सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकारसहितको सहयोगमा विभिन्न सम्भावनायुक्त गन्तव्य पहिचान गरी सबै पर्यटकीय सुविधा सम्पन्न, शान्त, सुन्दर र मनमोहक पदमार्ग निर्माण, उचित व्यवस्थापनसहित अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार हुन सकेमा पर्यटन विकास संभव हुनेछ।

पर्यटकीय गाउँहरूमा आकर्षक प्याकेज, स्थानीय मौलिक संस्कृति र भेषभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वाद पस्केर आतिथ्य सत्कारमा निखारता दिन सकिन्छ।

हाम्रोअगाडि गुणस्तरीय पर्यटन प्रबर्द्धनका थप चुनौती छन्। यी चुनौतीको सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण सञ्जाल तथा व्यावसायिक प्रवर्द्धनको क्षमता र कार्यकुशलताले मात्र सकिन्छ। यसका लागि स्थानीय र प्रदेश सरकारले सम्बन्धित संस्थासित हातेमालो गर्न सके ग्रामीण पर्यटनले छिट्टै फड्को मार्नेछ। (लेखक पर्यटक गाइड तथा गेमी होमस्टे संस्थाका अध्यक्ष हुन् )

विएल नेपाली सेवा