आजको सत्ता शताब्दीयौँदेखि संघर्षमा होमिएका नेपाली जनताको बलिदानीको उपज हो। जहानियाँ राणाशासन, निरङ्कुश राजतन्त्र र एकात्मक राज्यव्यवस्थाका कारण असमानताका पहाड ठडिएपछि समानताको आवाज उठ्न थालेको हो।

नेपाली समाजमा वर्गीय विभेदको अन्त्य, समतामूलक न्याय र समृद्धिका लागि कम्युनिष्ट विचारधाराको अनिवार्य सबैभन्दा पहिले पुष्पला श्रेष्ठले गर्नुभएको हो।

राजासहितको एकात्मक शासन व्यवस्थाले समाजलाई पश्चगमनमा अल्मल्याइ राख्ने देखेर नै नेपालमा वैज्ञानिक र समाज परिवर्तनको क्रान्तिकारी विचारधाराको रुपमा मार्क्सवादलाई स्वीकार गरिएको हो।

वास्तवमा समाजप्रतिको मार्क्सवादी अवधारणा, चिन्तन र व्याख्या सर्वोत्कृष्ट भएर नै नेपालले यस विचारको कार्यान्वयनका निम्ति धेरै ठूलो संघर्ष गरेको छ।

मूलत: गरीब र धनीबीचको खाडल पुरेर समानता ल्याउने र विकासको गतिलाई तीव्रता दिने कोणबाट संसारको एक उत्कृष्ट दर्शन नेपाली जनताले मन पराएका हुन्।

सत्तामा मार्क्सवादी स्खलन

यस विचारले संसारलाई सबैभन्दा धरै नै कुरा बुझायो भने समाजमा वर्गको निर्माण कसरी भयो? कोही धनी किन हुन्छन् र कोही सँधै गरिब किन भइरहन्छन् भन्ने कारण खोजी गरियो।

त्यति मात्र नभएर मार्क्स एङ्गेल्सले पुँजीवादको उत्थान, विकास र पतनको नियम नै पत्ता लगाए। शोषण कसरी हुन्छ भनेर अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाई त्यसबाट मुक्ति दिलाउन के गर्नुपर्छ भनेर उपाय नै सुझाए।

परिणाम संसारमा ठूलाठूला मजदुर आन्दोलन भए। किसानहरु सङ्गठित भए र राज्यमा आफ्नो उपस्थितको खोजी गरे।

यसैले पनि न्यायप्रेमी नेपाली जनताले मार्क्सवाद रोजे। यथार्थमा मार्स्खवादको उत्पतिदेखि आजसम्म विचारको राजनीति यिनै कुराको वरिपरि केन्द्रित छ।

यसर्थ, यिनै प्रश्नहरुका आधारमा के भन्न सकिन्छ भने नेपालको आजको कम्युनिष्टले शासन चलाइरहेको जग उल्लिखित समस्याहरुको निवारणका निम्ति नेपाली जनताले देखाएको बलिदानी हो तर विडम्वना के छ भने यहाँ कम्युनिष्ट नामधारीहरुले शासन चलाइरहेका भएपनि कम्युनिष्टहरुको सत्ता आउन सकिरहेको छैन।

नेपालमा क्रियाशील कम्युनिष्टहरुले मार्क्सवादका आधारभूत शर्तहरु लागू गर्न सकिरहेका छैनन्। जस्तो, उत्पादनमा सामूहिक स्वामित्व। जमिन जोत्नेको हुने क्रान्तिकारी भूमि सुधार। शिक्षा र स्वास्थ्य नि:शुल्क हुने। सबैले रोजगारी पाउने आदि प्रावधान लागू नहुनु आदि हुन्।

स्वयम् मार्क्सवाद र कम्युनिज्मका गफ दिनेहरुकै जीवन र व्यवहार नियाल्ने हो भने उनीहरुमै भयङ्कर ठूलो स्खलन देखिन्छ।

यस कारण आजका मार्क्सवादी भनेर चनिनेहरुले मार्क्सवादका आधारभूत कुराहरु आफ्नै जीवनमा कहाँ र कसरी कार्यान्वयन गरिरहेका छन् भन्ने प्रश्नहरुको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ।

मुख्यतया कम्युनिष्ट पार्टीको नेतृत्व तहमा हुनेहरुको व्यहार हेर्दा कहीँ कतै पनि विचार अनुसारको व्यहारको गुन्जायस पाइँदैन।

बरु यहाँ स्वयंम् मार्क्सवादी हौं भन्नेहरुबाट नै विचार र सिद्धान्तको दुरुपयोग भएको पाइन्छ। समग्रमा मार्क्सवाद जस्तो वैज्ञानिक दर्शनकै खिल्ली उडिरहेको छ।

यसका प्रशस्तै उदारहण भेटिन्छन्। जसमध्येको प्रमुख नेकपा एमालेले सञ्चालन गरिरहेको सरकारका गतिविधि हुन्। पछिल्लो पटक नेपालमा संख्याका हिसाबले मार्क्सवादीहरुको जमात ठूलो भएता पनि गुणात्मक कम्युनिष्टहरुको निकै अभाव देखिन्छ।

महान दार्शनिक कार्ल मार्क्सको चिन्तनलाई नेपाली कम्युनिष्टहरुले आफ्नो धन्दाको रुपमा विकाश गरिरहेका छन्। यसै कारणले गर्दा आजका कम्युनिष्ट नेताहरु कृतिम मार्क्सवादीमा रुपान्तरित भइरहेका छन्।

अवसर प्राप्त गरेका नेताहरुको प्रस्तुति, विचार, संघर्स र जनताको मुक्तिका सवालबाट अलग्गिँदै जान थाल्दा नेपालमा राजनैतिक प्रणालीको रुपमा मार्क्वादको विकास गर्न नसकिने खतरा बढ्दै गएको छ।

गहिरिएर हेर्दा मदन भण्डारीले नेपालमा मौलिकतामा अधारित मार्क्सवादको विकास गर्नुपर्छ भनेर जबजको ल्याइदिएर नेताहरुले नाक जोगाउने मौका पाएका हुन्।

यदि हामी साँच्चिकै मार्क्सवादी हौं भनेर उहाँले प्रमाणित नगरिदिएको भए आजका कम्युनिष्टहरुसँग देखाउने दाँतहरु पनि नरहने रहेछन्।

जननेता मदन भण्डारीले ‘संसदीय लोकतन्त्रमा जाने तर समावाद पनि नछाड्ने’ जुन कुरा व्यक्त गरे, त्यही दिनदेखि कृतिम कम्युनिष्टहरुको राजनीतिक धन्दामा चुलिएको हो। यसै कारण उनीहरुलाई कम्युनिष्ट विचार र आचरणबाट च्यूत भइसक्यौं भन्न पनि गाह्रै छ।

आजको सत्ता शासकहरुकै कब्जामा रहेको र जनताको सत्ता प्राप्तिका निम्ति अझै संघर्ष गर्नुपर्ने निष्कर्ष बताउनुका पछाडि हाम्रै आँखा अगाडि देखिएका प्रकृतिहरु मुख्य स्रोत हुन्।

समाजमा विभेद अन्त्य गर्नुपर्ने भनेर आवाज उठाउनेहरु आज आफ्नै कम्युनिष्ट पार्टीमा आफैँलाई न्याय मागिरहेका छन्।

यस्तो अवस्थामा स्वयं पार्टीमा न्याय, समानता र प्रणालीको लागि लडिरहेकाहरुले समग्र समाजमा न्याय र समानताका सवालहरु कसरी उठाउन सकुन्?

(आचार्य सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग जुम्लाका विज्ञ सदस्य हुन्।)