अबिलम्ब हुन लागेकाे उपकुलपतिको नियुक्तिका कारण यतिबेला कर्णालीकै प्रतिष्ठित स्वस्थ्य क्षेत्रकाे हब स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सबैकाे चासाेकाे विषय बनेकाे छ।

देशका अरु प्रतिष्ठानकाे तुलनामा बढी संख्यामा आकांक्षी देखिएकाे कर्णाली प्रतिष्ठानमा उपकुलपति नियुक्तिको लागि दुई चरण पार भएका छन्।पहिलाे चरणमा १३ जनाकाे नाम सार्वजनिक भएकाे थियाे भने दाेस्राे चरण अन्तर्गत तीन जनाकाे नाम सार्वजनिक भएकाे छ। मन्त्रालयले आधिकारिक सुचना जारी नगरे पनि केही उच्च अधिकारीका अनुसार तीन जनाकाे नामावली प्रधानमन्त्रीलाई पठाएर उपकुलपति नियुक्ति गर्ने तयारी भइरहेको छ।

सुरुमा सबैभन्दा धेेरै आकांक्षी देखिएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि सिफारिस समितिले अन्तिम तीनमा प्रा डा.रेशम राना, डा.पुजनकुमार रोकाया र डा.मंगल रावलको नाम प्रधानमन्त्री कार्यालयमा पेश गरेको हाे। तर याे नामावलीमा परेका डाक्टरकाे याेग्यता भन्दा पनि छनाेटकाे प्रकृया नै नमिलेपछि प्रा. डा. राम प्रसाद उप्रेतीले असहमति जनाएका छन्।

‘म सिनियर र याेग्य प्राध्यापक भइकन पनि सर्ट लिष्टमा समेत नपरेपछि सरकारसँग कारण खाेजेकाे छु। हालसम्म चित्तबुझ्दो जवाफ नपाएका कारण अदालत जाने तयारी भइरहेको छ,’ उनले बिएल नेपाली सेवालाई भने।

हाल सार्वजनिक भएकाे सूचीमा रहेका दुई जना बाहालवाला छन् भने एक जना कुनै पनि पदमा नरहेका छन्। बाहालवाला दुई जनामध्येका प्रा. डा. रेशम राना प्रतिष्ठानका डिन हुन भने डा. मंगल रावल अस्पताल निर्देशक हुन। त्यस्तै अर्का  डा. पुजनकुमार राेकाया प्रतिष्ठानका पुर्व मेडिकल निर्देशक हुन।

याे लेखमा अन्तिम तीनमा सिफारिस भएका तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति सकारात्मक नरहेका मध्ये एक डा. मंगल रावलकाे विषयमा टिप्पणी गर्न खाेजिएकाे छ।

हाल निर्देशकका साथसाथै प्रतिष्ठानका कार्यबाहक उपकुलपति समेत रहेका उनी यदि उपकुलपति भइहालेकाे खण्डमा कस्ताे खालकाे नेतृत्व दिन सक्छन् भन्ने महत्त्वपूर्ण प्रश्न उठिरहेको छ। उनी प्रतिष्ठान जुम्लामा रहनु हुँदैन भनेर खुला आवह्नान गर्दै हिड्ने मध्येका एक डाक्टर हुन। जुन उनले विगतमा सामाजिक संजालमा व्यक्त गरेकाे सार्वजनिक अभिव्यक्तिले पनि प्रष्ट हुन्छ। त्यसमाथि उनले विगतका दिनहरुमा कर्णालीमा डाक्टरी पढाई हुनुहुँदैन भन्नेसँग सहमत छुँ भन्दै फेसबुकमा पाेष्ट गरिरहेका थिए।

उनले डिसेम्बर एक २०१८ काे दिन, ‘भावनामा बहकिएर हुँदैन। जुम्लामा एमबिबिएस चल्न सक्दैन’ शिर्षककाे डा. गुप्त बहादुर श्रेष्ठकाे लेख र ‘यसकारण सम्भव छ, जुम्लामा एमबिबिएस’ भन्ने डा. पुजनकुमार राेकाया र डा. भूमेश काफ्लेको लेखकाे स्क्रिन सर्ट राखेर भाेटिङ नै गराएका थिए।

डा. गाेविन्द केसीकाे पहिलाे जुम्ला अनसनकाे बेला उनले यस्ताे लेखेका हुन। जतिबेला उनी डा. केसी विरुद्ध सक्रिय रहेकाे बुझिन्छ। एमबिबिएस अध्यापन हुनुपर्ने माग राखेर दाेस्राे पटक जुम्लामै अनशन गर्न पुगेका डा. केसीलाई अस्पताल हाताभित्र छिर्न समेत दिएका थिएनन्।

यसबेला उनी राजनीतिक पहुँकाे आधारमा २०७६ पुुस १ गते कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानकाे अस्पताल निर्देशकमा नियुक्त भइसकेका थिए। समग्र विश्वविद्यालय र शिक्षा क्षेत्र भागबण्डाकाे सिकार भइरहेको अवस्थामा उनी अपवाद हुने कुरा भएन।

तर, उनी पदमा बाहाल भइसके पछि आफ्नाे जिम्मेवारी बहन गर्नबाट चुकेका छन्। त्यसकाे गतिलाे प्रमाण भनेकाे काेराेना माहामारीकाे कठिन परिस्थितिमा पनि आफूलाई काेराेना लागेकाे भन्दै साडे तीन महिना काठमाडौंमा बस्नु हाे। जुन प्रतिष्ठानकाे हाजिरी फाइलबाट पनि पुष्टि हुन्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे पदाधिकारी हुनेकाे नाममा अनावश्यक रकम खर्च गर्न नहुने भनेर विचार व्यक्त गर्ने उनले प्रतिष्ठानकाे रेक्टर नियुक्ति प्रक्रियामा विमत्ति जनाएर, ‘राज्यको श्रोतमा रजाई’ भन्ने शिर्षक राखेर फेसबुकमा यस्ताे स्टाटस लेखेका थिए:

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर नियुक्ति गर्नका लागि हाम्रा उपकुलपति राजेन्द्रराज वाग्लेले तीन जनाको नाम मन्त्री उपेन्द्र यादवलाई सिफारिस गरेको खुल्नमा आयो।कुनै काम नपाइ घाम तापिरहेका सात जना पधाधिकारीहरु छँदैछन्। अर्को फेरी ४ लाख तलब खाने, घाम ताप्ने पदाधिकारी नियुक्ति गर्नुको कुनै तुक छैन। यसमा सरकारको ध्यान जावोस। हुन त हाम्रा उपकुलपतिले एमबिबिएस/एमडीजीपी प्रधानमन्त्रीले दिएनन् भनेर हल्ला गर्ने अर्को एउटा मान्छे जम्मा गर्न खोज्नुभएको हो भने मेरो भन्नु केहि छैन। काम गर्नुहोस् राज्यको श्रोतमा ब्रम्हलुट नगर्नुस्, यसरी। सराप लग्छ अर्को जुनीमा।’

कुनै बेला निर्धक्क सार्वजनिक रुपमा मितव्यी बन्न सक्ने उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८६ काे दफा २५ काे एउटै बुँदाबाट नियुक्ति पाएका अरु निर्देशककाे भन्दा सेवा सुविधा बढाएर खाइरहेका छन्। प्रतिष्ठानका अनुसार उनले अरु निर्देशक भन्दा महिनामा चानचुन ४० हजार बढी रकम पारिश्रमिक पाउँदै आएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरकाे नियुक्ति लिएपछि प्रतिष्ठानकै खर्चमा एमडी सकाएका उनले सम्झौता अनुसार पाँच वर्ष दुर्गममा सेवा गर्नुपर्ने हाे तर उनी सुर्खेत जस्ताे सुगम ठाउँमा बसेर प्रतिष्ठानले उपलब्ध गराउने पिछडिएकाे क्षेत्रकाे नामकाे भत्ता खाइरहेकाे प्रमाण छ। त्यसमाथि नन प्रक्टिस भत्ता  खाएर निजी क्लिनिकमा काम गर्न गएकाे तथ्य फेला परेकाे छ।

यी विभिन्न तथ्यका आधारमा उनी प्रतिष्ठानकाे फेवरमा नरहेकाे जुम्लीहरुकाे बुझाई छ। निर्देशक जस्ताे गरिमामय पदकाे खिल्ली उडाएका उनी उपकुलपति भएमा प्रतिष्ठान थप अन्याैलमा पर्ने विषयमा बहस चल्न थालेका छन्। विएल नेपाली सेवा