गाउँमै दुग्ध व्यवसाय गर्ने गौतम दम्पती उक्त दिन बिहानै गोठ पुगेका थिए। दूध बजारसम्म पुर्‍याउन संकलन गरेर मोटरसाइकलमा फर्किरहेका थिए, उनीहरु।पुलछेउमा तैनाथ सेनाले रोक्न खोज्यो तर गौतम दम्पती रोकिएनन्। लगत्तै सेनाले क्रूरतासाथ अन्धाधुन्ध गोली चलायो। उनीहरू चलिरहेको मोटरलाइकलबाटै भूइँमा ढले।

 

७वैशाख, म्यान्मार। चलिरहेका घडीका काँटाहरू रोक्दा समय रोकिथ्यो भने कति सजिलो हुन्थ्यो होला, समय फर्काउन।

घण्टा, मिनेट, सेकेण्ड र मिनी–सेकेण्डसँग कुनै सरोकार हुँदैन, मृत्युको।

गत मंगलबार अर्थात् १३ अप्रिल। दिउँसोको समय। म्यान्मारको सीमावर्ती टमूनगरको गोर्खाबस्तीमा एकाएक खबर फैलियो, ‘एक दम्पती भूइँमा ढलेका छन्।’

खबर सुन्नबित्तिकै बस्ती अवाक बन्यो। सन्नाटा छायो।

खबर ल्याउनेले भनिदियो, ‘उनीहरू जिउँदा छैनन्। मोटरसाइकलमा आइरहेका थिए। गोली लाग्यो र ढले। लाश पाहे पुलछेउमै पल्टिरहेको छ। आफन्त गएर छिट्टै ल्याए हुन्छ। माथिल्लो तहको मान्छे आएपछि मृत–शरीर ल्याउन दिनेछैनन्। उनीहरू सायद गोर्खा हुन्।’

बस्तीका मान्छे आत्तिएर दौडिदै भनेकै ठाउँमा पुगे। त्यहाँ ढलिरहेका थिए– नेपालीभाषी किशन गौतम र उनकी पत्नी हरिमाया गौतम। उनीहरुको शरीर पार्थिव भइसकेको थियो।

गाउँमै दुग्ध व्यवसाय गर्ने गौतम दम्पती उक्त दिन बिहानै गोठ पुगेका थिए। दूध बजारसम्म पुर्‍याउन संकलन गरेर मोटरसाइकलमा फर्किरहेका थिए, उनीहरु।

पुलछेउमा तैनाथ सेनाले रोक्न खोज्यो तर गौतम दम्पती रोकिएनन्। लगत्तै सेनाले क्रूरतासाथ अन्धाधुन्ध गोली चलायो। उनीहरू चलिरहेको मोटरलाइकलबाटै भूइँमा ढले। ठाउँका ठाउँ ढले। दूधसँगै ढले।

आफन्तका अनुसार, किशनलाई गालामा गोली लागेको थियो र हरिमायाको पछाडि ढाडमा।

होमनाथ न्यौपाने (मृतक हरिमायाको दाजु)को परिवार यति बेला शोकमा छ। कोरोना महामारी अघिसम्म सँगै थाइल्याण्डमा बसेकी बहिनी र ज्वाइँ जन्मभूमि (म्यान्मार) मै मारिए। त्यो पनि देश र जनताको सुरक्षामा खटिएका सुरक्षाफौजले चलाएको गोलीबाटै।

म्यान्मारमा बसोबास गर्ने नेपालीभाषी अर्थात् गोर्खा समाजमा ‘पूर्खाको गौरव’ मानिने सेनाले नै बहिनी–ज्वाइँको हत्या गर्दा यति बेला होमनाथ शब्दबिहीन छन्। भावविह्ल छन्।

नहोउन् पनि कसरी? बाँच्नकै लागि श्रम गरिरहेका आफ्नै प्रिय  बहिनी–ज्वाइँलाई सडकमै सेनाले गोली ठोकेर मारेपछि।

चार दाजु र पाँच बहिनीसहित उनीहरू नौ सन्तान हुन्। होमनाथ र हरिमाया खूब मिल्थेँ। होमनाथकी सबैभन्दा प्यारी थिइन्, हरिमाया। उनी होमनाथकी माइली बहिनी थिइन्।

होमनाथसँग अब प्यारा ज्वाइँ किशन गौतम पनि कहिल्यै मिल्ने छैनन्। बोल्ने छैनन्। हाँस्ने छैनन् र भेट्ने पनि छैनन्। उनी केवल अब दुःखद् सम्झनामा मात्र रहने छन्।

होमनाथले भने, ‘देश अप्ठेरोमा छ। परिवार त्रासैत्रास बाँचिरहेको छ। म कसरी फर्कौँ बर्मा, जहाँको सरकारले मेरो बहिनी–ज्वाइँको हत्या गर्‍यो।’

कोरोना महामारीभन्दा पहिले किशन र हरिमायाको थाइल्याण्ड बसाइँ राम्रै थियो। राम्रो काम (व्यापार)। राम्रो दाम।

उनीहरुको प्रेम पनि बडो सुन्दर थियो। कहीँ कतै जानुपरे सँगै जानुपर्ने। केहीँ खानुपरे बाँडेर आधा आधा जुठो खानैपर्ने। बहिनीज्वाइँको प्रेम र सम्बन्ध देखेर दाजु होमनाथ पनि प्रफुल्लित हुन्थे। खुशी हुन्थे।

कहिलेकाहीँ होमनाथले जिस्कँदै ज्वाइँलाई सोध्थे पनि, ‘खूब माया गर्नुहुन्छ है ज्वाइँ, मेरी बहिनीलाई ?’

किशन पनि के कम ! जवाफ दिन्थे, ‘हो नि ! माया गर्छु, असाध्यै। तपाईंले सोचेको भन्दा ज्यादा। सँगै बाँच्छौँ र सँगै मर्छौँ पनि।

आखिर भयो पनि त्यस्तै। क्रूर जुन्ताले सँगै प्राण हर्‍यो दुवैको। कोरोना महामारीपछिे बैंकक पनि व्यापारका असहज हुन थालेपछि उनीहरूले निधो गरे, गाउँ (बर्मा) फर्किने।

किशनकी आमा (७८) दिदीसँगै म्यान्मार बस्थिन् तर उनको मनले पटक्कै मानेन र छोरा–बुहारी कहाँ थाइल्याण्ड पुगिन्।

‘आमैलाई थाइल्याण्ड बस्न रुचि थिएन। बेला–बेला भन्नुहुन्थ्यो– बर्मा नै फर्किने हो,’ होमनाथ सुनाउँछन्, ‘संयोगले कोरोना त्रास फैलियो। बर्मा नै फर्किने अवसर जुर्‍यो। आमासँगै बहिनी र ज्वाइँ पनि फर्किनु भो।’

थाइल्याण्डबाट सासु–आमा र श्रीमानसँगै टमूनगर (बर्मा) फर्किएपछि हरिमायाले गाईपाल्ने सोच बनाइन्। होमनाथले भने, ‘बहिनीले मसँग गाईपालनबारे सल्लाह मागेकी थिइन्।’

माइलो भाइ पनि गाउँमै गाई पालेर बसेका छन्। हरिमाया दम्पतीले पनि उनैको सहयोगमा व्यवसाय सुरु गरेका थिए।

छोटो समयमै उनीहरुले राम्रो आम्दानी गर्न थालेका थिए। आफ्नो गोठको दूधसँगै गौतम दम्पतीले घर–घरबाट दूध जम्मा गरेर बजारसम्म पुर्‍याउँथे। किशन र हरिमायाको दिनचर्या टमूनगरमा जसोतसो चलिरहेकै थियो।

बिहानैदेखि गोठ–घर–बजारसम्म दौडधूप गर्नु उनीहरुको दैनिकी बनेको थियो।

‘दुवै जना उत्तिकै मिहिनेत गर्थें। बर्मा गएपछि उनीहरूलाई बोल्ने फुर्सदै हुँदैन्थ्यो। लगतै सेनाले देशमा ‘कू’ गर्‍यो। नेटको अवस्था राम्रो थिएन। कुरै गर्न नपाइने,’ होमनाथले भावुक हुँदै  सुनाए।

परिवारको शोकले प्रवासमा बसिरहेका होमनाथको मन अताल्लिएको छ, यति बेला। हुनत उनलाई थाइल्याण्ड बिरानो लाग्दैन। बच्चैदेखि जाने–आउने गरिरहेका छन्। गल्ली–गल्लीसँग उनको राम्रो साक्षात्कार छ। चोक–चोक थाहा छ, उनलाई।

एक हिसाबले भन्दा प्रायः बर्मेलीहरूको गोठजस्तै हो, थाइल्याण्ड। होमनाथलाई अहिले थाइल्याण्डबाट म्यान्मारमा फर्कने मन छ तर जुन्ता शासकको आतङ्कले उनी झस्किन्छन्। मन थाम्दै उनले भने,  ‘खै, कसरी जानु बर्मा।’

गौतम दम्पतीका तीन सन्तान छन्। सन्तोष (२१), कैलाश (१९) र छोरी आरती (१७)। रोजगारीको लागि थाइल्याण्ड पुगेका सन्तोष उतै छन्। बाँकी दुई सन्तान बुबा–आमासँगै टमूमा बस्थें। कान्छो छोरा कैलाश र छोरी आरती टमूमा रहेका छन्।

टमू नगरमा साढे तीन हजार नेपालीभाषी बसोबास गर्छन्। टमू भारतीय सीमावर्ती बजार हो। यहाँ बसोबास गर्ने प्रायः नेपालीभाषीहरू गाईपालन गर्दैनन्। अन्य व्यवसायमा जोडिएका छन्।  विएल नेपाली सेवा