राप्ती अञ्चलको कम्युनिष्ट आन्दोलन २०२८ साल देखी तिव्रतम विकास भएको मानिन्छ । राप्ती अञ्चलका विभिन्न जिल्लामा संगठन विस्तारको क्रममा २०२८ सालमा शिद्धरत्न नाथ नमुना मावि नारायणपुर दाङमा आगलागी गराइएको थियो । बेलुका ८ः३० बजेको समयमा शिवपुर प्राविका प्रधानाध्यापक प्रेमनारायण अधिकारीले नाटकको पहिलो सो देखाउन लागेको बेला विद्यालयमा एक्कासी आगलागी भयो भन्दै होहल्ला भएको थियो । तत्कालिन नेपाल विद्यार्थी संघका दामोदर न्यौपाने, गोविन्द गौतम लगायतले आगलागी गराएको भन्ने चर्चा सुनिन थाल्यो ।

२०२८ सालदेखी नारायणपुर माविका प्रधानाध्यापक नेत्रलाल पौडेल (अभागी) को नेतृत्वमा शिवराज गौतम, अमरबहादुर डाँगी, ऋषिराज जंगली लगायतका शिक्षकहरुले तत्कालिन नेकपा मालेको विचारलाई अंगालेकाले शासकहरु उनीहरुमाथि निगरानी राख्न थालेपछि बाध्य भएर पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका थिए । त्यही समय देखी दाङको हापुर, नारायणपुर, विजौरी, भोजपुर लगायतका क्षेत्र नेकपा मालेको वर्चश्व रहेको थिए । दाङका ती क्षेत्रसँग सीमाना जोडिएका रोल्पाका नुवागाउँ, डुव्रिङ, दुविडाँडा, सखी, झेनाम, मसिना, बुढागाउँ, जुगार जस्ता क्षेत्रहरुमा पनि नेकपा मालेको प्रभाव विस्तार हुँदै गएको थियो । पार्टीको पूर्णकालिन कार्यकर्ता भई अर्धभूमिगत अवस्थामा रहेका नेता नेत्रलाल अभागीले दाङ र रोल्पाका यी भूभागहरुमा संगठन निर्माणमा विशेष योगदान गरेका थिए ।

रोल्पा जिल्लामा नेकपा एमालेको अहिलेका संगठनको आधार भनेको त्यही बेलाको संगठन हो । नेत्रलाल अभागी रोल्पाका धेरै स्थानहरुमा संगठन निर्माणको क्रममा गएको बताइन्छ । दाङसँग सीमाना जोडिएका क्षेत्रका अतिरिक्त गैरीगाउँ, कोर्चबाङ, तालाबाङ जस्ता क्षेत्रहरु पनि छिमेकी गाउँको प्रभावका कारण नेकपा मालेसँग जोडिएका कारण ती क्षेत्रहरुलाई अहिले पनि नेकपा एमालेको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । नेत्रलाल अभागीलाई २०३९ सालमा दाङको सवारीकोटमा तत्कालिन शासकले हत्या गरे । अभागीको हत्या पछि रोल्पाको संगठन निर्माणमा रोल्पाली नेताहरु नै जुट्नुपर्ने भयो । जसका लागी रत्नबवहादुर बस्नेत, हरिप्रसाद बस्नेत, कोर्चबाङका शिक्षक मानबहादुर बाँठा, धनबहादुर बस्नेत, शोभाराम बस्नेत, रविबहादुर पुन लगायत केही शिक्षकहरुको पहलमा ती क्षेत्रमा नेकपा मालेका कमिटीहरु बन्न थालेका हुन । माथि उल्लेख गरेका बाहेक अन्य धेरै नेताहरुले पनि एमालेको संगठन निर्माणमा अहोरात्र खटेका थिए ।

यता सदरमुकाम लिबाङ तथा पूर्वी रोल्पा दक्षिणको तुलनामा नेकपा एमाले निकै कमजोर थियो । २०४६ सालमा आएको राजनैतिक परिवर्तन पछि सदरमुकाम लिबाङमा पार्टी कार्यालय स्थापना भयो । तत्कालिन जिल्ला पार्टी सचिवमा यज्ञराज वास्तोला आएका थिए । बास्तोलाले करिव २ वर्ष जिल्ला पार्टी संचालन गरेपछि उनको ठाउँमा २०४८ सालतिर टिकाराम खड्का रोल्पा आए । बहुदलीय व्यवस्था पुनरस्थापना सँगै २०४८ सालमा पहिलो आमनिर्वाचन हुनेभयो । त्यतीबेला नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले बनिसकेको थियो । नेकपा एमालेका धेरै कार्यकर्ताले रोल्पामा नेकपा एमाले सूर्य चिन्हबाट चुनाव लड्नुपर्छ भनेर माग राखे पनि राप्ती अञ्चलमा सबै बाम एक ठामको निती अनुसार रोल्पा जिल्ला तत्कालिन संयुक्त जनमोर्चा नेपाललाई छाडिदिनुपर्ने भयो ।

शंकटकालमा रहेको नेकपा एमालेले पहिलो आमनिर्वाचनमा सहभागि हुन नपाउने भएपनि कार्यकर्ताहरुमा असन्तुष्टी देखिन थालेको थियो । माथिको आदेश मान्नैपर्ने बाध्यताका कारण रोल्पा निर्वाचन क्षेत्र नं. १ मा संयुक्त जनमोर्चाका उम्मेदवार वर्मन बुढामगर र निर्वाचन क्षेत्र नं. २ मा कृष्णबहादुर महरालाई मतदान गर्नै पर्ने भयो । क्षेत्र नं. १ घर भएका कृष्णबहादुर महराको आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्ने सुनिश्चितता नभएपछि क्षेत्र नंं २ मा गएर निर्वाचन लडेका थिए भने क्षेत्र नं. २ को थबाङघर भएका वर्मन बुढा भने क्षेत्र नंं १ बाट निर्वाचन लडेका थिए । हारजितको संसयका वीच २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट दुवै क्षेत्र तत्कालिन नेकपा एकताकेन्द्रको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालले चुनाव जितेको हो ।

राप्ती अञ्चलमा रहेका ११ वटा निर्वाचन क्षेत्र मध्ये दाङको ३ वटा, सल्यानको २ वटा र प्यूठानको १ निर्वाचन क्षेत्र गरी ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेलाई सहयोग गर्ने र रोल्पाका २, रुकुमका २ र प्यूठानको १ गरी ५ वटा निर्वाचन क्षेत्र तत्कालिन संयुक्त जनमोर्चा नेपाललाई सहयोग गर्ने सहमती बमोजिम भएको गठबन्धनमा नेकपा एमालेले दाङको एउटा निर्वाचन क्षेत्रबाट मात्रै चुनाव जितेको थियो भने तत्कालिन संयुक्त जनमोर्चाले रोल्पाबाट २ र रुकुमबाट १ सिट जितको थियो । दाङबाट शिवराज गौतमले नेकपा एमालेबाट चुनाव जितेका थिए भने रोल्पाबाट कृष्णबहादुर महरा र वर्मन बुढा तथा रुकुमबाट खड्कबहादुर बुढाले चुनाव जितेका थिए । अन्य सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

रोल्पाका एमालेले पहिलो संसदीय निर्वाचनमा सूर्यमा भोट हाल्न नहाली हसिया हथौडामा भोट हाल्न बाध्य भएका थिए । पहिलो निर्वाचनमा नै नेकपा एमालेले रोल्पामा चुनाव लक्षित गतिविधि गर्न नपाएका कारण जिल्लाभरी संगठनको संजाल विस्तार हुन सकेन । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिमा संयुक्त जनमोर्चासँग एमाले मिल्नुपर्ने भयो । नेपाली कांग्रेस र राप्रपा मिलेका कारण एमालेलाई फेरी संयुक्त जनमोर्चासँग मिल्नुपर्ने भयो । संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीलाई सभापति र नेकपा एमालेका मानबहादुर बाँठालाई उपसभापति बनाउने गरी गठनबन्धन गरियो । सुवेदी र बाँठामगर दुवैजना शिक्षण पेशामा संलग्न थिए । जिविस सभापति र उपसभापति हुने भएपछि दुवै जनाले स्थायी जागीरबााट राजीनामा दिएर जनप्रतिनिधिका लागी निर्वाचन लडेका हुन ।

२०५२ साल फागुन १ गतेपछि तत्कालिन नेकपा एकताकेन्द्रले नेकपा माओवादीको नामबाट सशस्त्र युद्धको घोषणा गरी भूमिगत राजनीतिमा प्रवेश गरेसँगै रोल्पामा उनीहरुको आक्रमणको तारो राप्रपा, नेपाली कांग्रेस र एमाले बन्न पुगे । युद्ध अवधीमा माओवादीले एमालेका दर्जनौ नेता कार्यकर्ता र शुभचिन्तकहरुको हत्या गरे । रोल्पाको हार्जङको एकघरमा बसीरहेका नेकपा एमालेका ९ जना नेता कार्यकर्ताहरुलाई माओवादीले घरमा आगो लगाएर निसंशपूर्ण तरिकाले हत्या गरेका थिए । युद्ध अवधिभर नेकपा एमालेले आफ्ना सांगठनिक गतिविधि गर्न पाएन ।

शान्ति प्रकृया पछि नेकपा एमालेको गढ मानिने दक्षिण रोल्पामा माओवादी लडाकुको शिविर राखियो । एमालेको गढ मानिने नुवागाउँको दहवनमा मुख्य शिविर र मासिना तथा गैरीगाउँमा सहायक शिविर राखेपछि लडाकुहरुले एमालेको सांगठनिक गतिविधि निर्वाण गर्न दिएनन । राज्यको नुनपानी खाएर नेकपा एमाले विरुद्ध गतिविधि गर्न खटाइएका लडाकुको उद्धेश्य रोल्पामा नेकपा एमालेलाई कमजोर पार्नुथियो ।

यसरी रोल्पामा नेकपा एमालेलाई उठ्नै नदिने गरि संयुक्त जनमोर्चा कालदेखी माओवादी युद्ध र शान्तिप्रकृयाको अवधिमा पनि गतिविधि भईरहे पनि नेकपा एमालले रोल्पामा आफ्नो संगठन बचाई राखेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा १० स्थानीय तह रहेको रोल्पाबाट नेकपा एमालेले २ स्थानीय तह जितेको छ । ७२ वडा मध्ये ११ वडामा नेकपा एमाले निर्वाचित भएको छ । पूर्वी रोल्पाको जैमाकसला, गाम जस्ता क्षेत्रमा पनि एमालेले वडा जितेका कारण एमालेको संगठन मजवुत हुँदै गएको बुझ्न सकिन्छ । रोल्पालाई हेर्ने नेताहरुको दरिद्र मानसिकताका कारण नेकपा एमाले कमजोर भएको हो । जनताको अगाध माया र विश्वास भने एमालेलाई बढ्दै गएको देखिन्छ ।