आदिम मानवीय सृष्टिचक्र निरन्तरताको लागि महिला र पुरुषको सृष्टि भएको हो।

यी दुईको उपस्थिति, संलग्नता, सहभागिता र सहमतिबिना संसार चल्दैन। महिला र पुरुषमा समानताका दृष्टिकोणले त्यति ठूलो तात्विक भिन्नता देखिँदैन। कविला घुमन्ते, फिरन्ते समाजमा पशुवस्तु, जमिन र महिला नै सम्पतिका मानक मानिन्थ्यो। जो जहाँ सर्दै जान्थे एक अर्काको जमिन, पशु र महिलामाथि अधिकार जमाउने होडबाजीनै चल्थ्यो। आदिम समाजको सम्पति पशुबाट भूमिमा बद्लियो। यसपछि मानवले जोत्ने, खेती गर्ने कला सिक्यो।

यही समयबाट अन्र्तजातीय युद्धको कारण बन्यो। १) पशुहरुको चोरी २) महिलाहरुको चोरी र ३) अरुको चरनमा लुकीछिपी पशुहरुलाई चराउनु। सँगसँगै घुमन्ते जनजातिले स्थायी बसोबास गर्ने माथि आक्रमण गर्न थाले। स्थायी रुपमा बसोबास गर्न शुरु गरेको समूहले गाँउको स्थापना गरे।

यसले ग्रामीण समाजको रुप लियो। विभिन्न समूह गाँउको बाहिर अलग बस्न थाले। उनीहरुमध्ये जनजाति समूहका र भिन्न रक्त समुहका पनि थिए।

अछुतहरु आरम्भबाटै गाँउको बाहिर बस्दथे र उनीहरुको गाँउ बाहिर बस्नुसँग अछुतपनाको कुनै सम्बन्ध छैन। नेपालमा पनि अछुतहरु प्रायः यस्तै गाँउबाहिर भीरपाखा, खोलाछेउ, अनुत्पादक जमिनमा बसेका छन्। अछुतनै भएर होइन। पहिला मनुको सिद्धान्त बमोजिम सम्पतिको अधिकारबाट वञ्चित गरी उनीहरुको भूमि र जमिन कब्जा गरिएकोले गर्दा यस्तो भएको हो।

आम अछुतहरु छिन्नभिन्न पारिएका जनजाति समूहका मान्छेहरु हुन्। जुन गाँउका जाति, जुन दलको हो, उनीहरु यो भन्दा भिन्न दलका हुन्। एउटा समूह अन्र्तगत अन्त्य, अन्त्यज र अन्त्यवासी नाम आउँछ। जुन हिन्दू शास्त्रले केही निश्चित समुदायलाई दिएको थियो  । यो प्राचीन कालदेखिकै परम्परा हो।

अन्त्य शब्दको अर्थ हो–अछुत। धार्मिक मत अनुसार अछुत, अन्त्यमा (पैताला) उत्पति भयो भन्ने छ। तर यसमा कुनै सत्यता र वैज्ञानिकता छैन्। अछुत उत्पतिको योजना भन्दा बाहिर छ। सत्य के हो भने अन्त्यको अर्थ उत्पतिको अन्त्य होइन। यसको अर्थ हो। गाँउको पुछार वा अन्तिम सीमा। यो नाम ती व्यक्तिहरुलाई दिएको छ। जो गाँउको बाहिरको सीमामा बस्थे। एकसमय थियो, जब वर्तमान कालका अछुतहरुका पूर्वज अछुत थिएनन्। हिन्दूहरुको गणचिन्ह र अछुतहरुको गणचिन्ह समेत फरक थिए।

अछुतपना उत्पतिका कारणहरुमा भिन्न नश्ललाई पनि मानिन्छ। मी. राइसका अनुसार भारतमा दुईवटा आक्रमण भए। पहिलो, द्रविडद्धारा भारतमाथि आक्रमण। उनीहरुले गैह्र द्रविड आदिवासी, अछुतहरुका पूर्वजमाथि विजय प्राप्त गरे र उनीहरुलाई अछुत बनाए। दोस्रो, भारतमाथि आर्यद्धारा आक्रमण। आर्यहरुले द्रविडमाथि विजय हाँसिल गरे। पृथक सभ्यता पनि अछुतको अर्को कारण बन्यो। द्रविडहरुले आक्रमण गर्नु अघि अछुतहरुले विकास गरेको सभ्यताहरु, सिन्धुघाँटी, मोहोन्जोड्दो र हरप्पा जस्ता सभ्यता र नगर विकासलाई कब्जा गरी दास र अछुत बनाए।

दास, नाग र द्रविड एउटै मान्छेका फरक–फरक नाम भए जस्तै अछुतहरु हुन्। फोहोरमैला काम, व्यवसाय गर्ने मान्छे अछुतहरुमा मात्रै होइन प्रत्येक मानव समाजमा छन्। संसारका अन्य भागमा यस्ता व्यवसाय गर्ने मान्छेहरुलाई किन अछुत मानिँदैन ? यसकारण फोहोरी काम गर्नु मत (सिद्धान्त) अछुतपनको कारण हुन्सक्दैन। सबैभन्दा महत्वपूर्ण बौद्धहरुप्रतिको घृणानै अछुतपनको मूल कारण बन्यो। बुद्ध र बौद्धप्रति ब्राम्हणहरु यतिसम्म क्रुद्ध थिए की, बौद्ध भिक्षु हिँडेको बाटोनै त्यागिदिन्थे।

कुनै स्थानमा भिक्षुको प्रवेश भएमा ठाँउनै छोडर भाग्थे। गाईको मासु खानु अछुतपनको अर्को कारण बन्यो। ब्राम्हणहरुले गाईको मासु खानेहरुलाई अछुतको व्यवहार गरे। जो बौद्धहरुको विरुद्ध फैलाइएको तिरष्कार, अपमान र छिन्नभिन्न पारिएका मानिसहरुले मासु खान कायमै राख्नु। ब्राम्हणहरुको ढाँटछल, षड्यन्त्र, असमानता र कुरीतिको विरुद्ध बुद्धको समानता, भातृत्व, प्रेम र अहिंसाको प्रचारले निकै चिढिएका थिए।

गाईको पूजा भिक्षुहरुको श्रेष्ठतामा अतिक्रमण, बौद्ध धर्म र ब्राम्हणवाद बीचको संघर्षको परिणाम थियो। ब्राम्हणहरु बौद्ध धर्म, दर्शनलाई पराजित गर्न शाहाकारी बनिदिए। ब्राम्हणहरुले आफ्नो गुमेको स्थानलाई पुनः प्राप्त गर्नका लागि यसलाई एउटा साधन बनाएका थिए  । पाँचौ शताब्दीको आरम्भबाट गाईको हत्यामा रोक लगाइयो। गाई र ब्राम्हण हत्यालाई समान मानिन थालियो। गौ–हत्यालाई महापातकको श्रेणीमा राखियो। सम्राट अशोकले गाईको वधलाई अपराध घोषित गरेनन्। धेरैले चाहेका थिए, वध प्रतिबन्ध गरिदिएहुन्थ्यो। मनुले समेत गाई खान निषेध गरेका थिएनन्। तथ्य र लेखकहरुका अनुसार ईसाको केही शताब्दीदेखिनै छुवाछुत शुरु भएको हो। अस्पृष्य अछुत होइन। अन्त्यजको अर्थ हो, म्लच्छे, अन्त्यज भनेको अछुतहरु अपवित्र अछुत भन्दा भिन्न हो। तर अपवित्र र अछुतमा कुनै अन्तर छैन।

समग्रमा गाईको मासु खानालेनै सदाबहार अछुत भए। वैद्धिक कालमा पनि अछुतपना थिएन। मनुको समयमा अछुतपना थिएन, अपवित्रता मात्रै थियो। चण्डाल जसलाई मनुले केवल तिष्कार (घृणा) गर्दथे। त्यो मात्रै अपवित्र थियो। सन्को दोस्रो इस्वी सम्म कुनै प्रकारको अछुतपन थिएन। विभिन्न ऐतिहासकि तथ्यप्रमाणका आधारमा अछुतपना सन् ६०० मा उत्पन्न भएको मानिएको छ। खासगरी यो बौद्ध धर्म र ब्राम्हणवादको बीचमा श्रेष्ठताको संघर्षका कारणले उत्पन्न भएको थियो। पुरातन धार्मिक चिन्तनको आधारमा हामीले कहिल्यै पनि आफ्नो समाजमा रहेको कुरीतिहरुको समाधान गर्न सक्दैनौ।

अम्बेडकरको खोज अनुसार आजका अछुतहरुनै विगतका बौद्धहरु हुन्। रोचक कुरा के छ भने नेपाल, भारतमा धार्मिकशास्त्र र व्यवहारले अछुत शिल्पी (कथित दलित) हरुलाई हिन्दू होइन भन्छ। भारतमा भने यसको छिनोफानो सन् १९१० मा भएको जनगणनाले अछुतहरु हिन्दू होइनन् भनिसकेको छ। गैह्रहिन्दूहरुमा अछुतपना भनेको अपवित्रता, छुत, सम्पर्क, विकार जस्ता आधार र यसबाट मुक्त हुने उपाय र साधना भन्नेछ। आदिम समाज अपवित्र (धारण) मा मात्रै विश्वास राख्थे।

आदिमानवमा अपवित्रताको मूल कारण बाहिर जानु वा मन्दिर बनाउनु, केही वस्तुहरुसँगको स्पर्शलाई मान्थे। उनीहरु अपवित्रता एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने विश्वास गर्थे। खाने, पिउने जस्ता सामाजिक क्रियाकलापलाई अपवित्रताको कारण मान्दथे। विशेष अवसर भनेर १) जन्म २) विवाह ३) बालिग (वयस्क) हनु ४) सहवास र ५) मृत्यु लाई मान्दथे। बालिग हुनु महिला पुरुषकै इन्द्रियमा परिवर्तनको संकेत हो।

यस्तो अवस्थामा एकान्तमा बस्नुपर्ने, थरीथरीका बस्तुहरु शरीरमा दल्नुपर्ने, साथै अङ्ग छेदन, खतना आदि। अमेरिकी समाजमा यस्तो पनि थियो। जुन संस्कार अनुसार विशेष भोजन ग्रहण गरी बान्ता गर्ने औषधी खाइ बान्ता गर्नुपथ्र्यो। यस अर्थमा आदिम अथवा प्राचीन समाज यस्तो थिएन। जसले अपवित्रताको अवधारणा नमानेको होस। अपवित्रताको सवालमा हिन्दू तथा आदिम एवं प्राचीन समाजको बीचमा कुनै अन्तर छैन। अपवित्रता र उँचनिँचनै हिन्दूहरुको मूल जग हो। सो कुरा अम्बेडकरले लेख्नु भएको (अनुवादकः कमला हेमचुरी) अछुत को र कसरी ? (Who are untouchables and why they are ? ) पुस्तकमा चर्चा गरिएको छ।

ऋग्वेदको दशौमण्डलका पुरुषशुक्तमा भनिएको छ, चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको उत्पत्ति, प्रजापति ब्रम्हाको चारवटा अङ्गबाट भएका हुन।

ब्राम्हणोस्य मुखमासित बाहू राजन्य कृतः।
उरु तदस्य यद् वैश्य पद्भ्याम शुद्रो अजायत।। ऋग्वेद १०।९०।१२
अर्थ–“ब्राम्हण उसको मुख, राजन्य (क्षेत्री) उसको बाहुु, वैश्य उसको जांघबाट थियो र शुद्र उसको पाउबाट उत्पन्न भयो।”

ऋग्वेद मार्फत स्थापना गरिएको चतुर्वर्ण व्यवस्थालाई नै जात प्रथाको मूल आधार मानिएको छ। यो खतरनाक त्यतिबेला बन्यो, जब यसलाई धार्मिक शासन र ईश्वरको आदेश बनाइयो।

मनुस्मृतिको रचना मनुद्धारा ईसापूर्व १८५ मा ब्राम्हण राजा पुष्यमित्र शुुंगको शासनकालमा गरिएको थियो। पुष्यमित्र सम्राट अशोकको नाति बृहद्रथको सेनापति थियो। पुष्यमित्रले बृहद्रथको हत्या गरेर राजगद्धीमा बसेको थियो। यो ब्राम्हणको सत्ता स्थापनाका लागि पुष्यमित्रले गरेको प्रतिक्रान्ति थियो। एकप्रकारले मनुस्मृतिको माध्यमबाट दैवी शासनको स्थापना गरिदियो। यस सम्बन्धमा डा. भिमराव अम्बेडकरले भन्नु भएको छ–“दैवी शासन नै हिन्दुत्वको योजनालाई एउटा लिखित संविधानमा स्थापित गरियो। जसलाई मनुस्मृतिको नामबाट चिनिन्छ।

यो एउटा दैवी आचार संहिता हो।” मनुका अनुसार ब्रम्हाको मुखबाट जन्म लिएको कारण ब्राम्हण जन्मलेनै श्रेष्ठ हो। कम्मरभन्दा तल्लो अङ्गबाट जन्मेको कारण वैश्य र शुद्र निच हो। व्यभिचार र दण्डका सम्बन्धमा पनि मनु कठोर देखिएका छन्।

शूद्रो गुप्तगुप्तं वा द्धैजातं वर्णमावसन्।
अगुप्तमङ्घसर्वस्वैर्गुप्तं सर्वेण हीयते।। (मनुस्मृति ८/३७४)

अर्थात, यदि शुद्र वर्णको कुनै व्यक्तिले ब्राह्मणको आरक्षित स्त्रीसँग व्यभिचार गर्छ भने, राजाले त्यो व्यक्तिको लिङ्घ काटिदिएर सबै धनसम्पत्ति खोस्नुपर्दछ। यदि शुद्रले रक्षित ब्राह्मणीसँग व्यभिचार गर्छ भने राजाले उसलाई प्राणदण्ड दिनुपर्दछ। विवहाको सम्बन्धमा त मनु झनै कठोर रहेको पाइन्छ। ब्राह्मणहरुले आफ्नो कामकला तृप्तिको लागि र जनसंख्या वृद्धिको लागि अनुलोम विवहालाई  स्वीकृति दिएका छन्।

तर प्रतिलोम विवहा वा सम्बन्धलाई स्वीकृति दिएका छैनन्। यसलाई दण्डनीय बनाएका छन्–
कन्यां भजन्तीमुत्कृष्टं न किंचिदपि दापयेत्।
जघन्यं सेवमानां तु संयतां वासयेद्धहे।।(मनुस्मृति ८/३६५)

अर्थात उत्तम जातिको पुरुषको साथमा सम्भोग गर्ने इच्छाले उसको सेवा गर्ने स्त्रीलाई दण्डित नगर।

उत्तमां सेवमानस्तु जघन्यो वधमर्हति।
शुल्कं दद्यात्सेवमानःसमामिच्छेत्पिता यदि।। (मनुस्मृति ८/३६६)

अर्थात् उत्तम (ब्राह्मण) वर्णको कन्यासँग सम्भोग गर्ने नीच वर्णको पुरुष बधयोग्य छ। विहेबारी आफ्नो बाहेक बाहिर गर्न पाउने छैनन् (मनुस्मृति १०/५३)।

यसरी मनुले शुरु गरेको सामाजिक घृणावाद आजसम्म आउँदा विकराल रुप लिएको छ। खासगरी राज्यसत्तामा मनुका उत्तराधिकारी जस्ता शासकहरु सत्तासिन रहेका छन्। त्यसैकारण देशैभर जातीय रुपमा हत्याहिंसा, बलात्कारका घट्ना अवाज विहिनहरुका लागि दैनिकी जस्तै भएको छ। एकनश्लीय राज्यसत्ता मौनधारण गरिरहेको छ। गतसाल जेठ १० गते शनिबार भएको रुकुम पश्चिमको नरसंहार मनुकै दण्डविधान अनुसार भएको हो। यसको जति निन्दा र भर्तसना गरेपनि कमै हुन्छ। जो प्रेम सम्बन्धका कारणले नवराज विक लगायतको दिउँसै हत्या गरिएको थियो।

यसले २१औ शताब्दीको दोस्रो दशकमा रहेको विश्वलाई लज्जित बनाएको छ। धार्मिक अन्धताले मानवीय चेतनालाई थुनेर अवचेतन बनाइदिन्छ। पवित्र, अपवित्र, सानो, ठूलो, जन्म, धर्म आदिका आधारमा वर्गिकरण गरिएको छ। मानवता, भातृत्व, प्रेम, समानता र भाइचारालाई पुरातनवादी धार्मिक आडम्बरले मानिस आफैलाई पशुमा झारेको छ।

विवाह वा प्रेम मानव वंशको निरन्तरता र भौतिक कामकलाको परिपूर्ति मात्रै हो। यसले कुनै जात, रुप, रङ्ग, धर्म र वंशसँग सरोकार राख्दैन। तर अवैज्ञानिक धार्मिक मतको परिकल्पानले मानव जन्मलाई तहगत श्रेणीवद्ध मात्रै गरेन। मानवीय सबै क्रियाकलापमा ब्राम्हण धर्मले रोकावट र छेकबार नै लगायो। जो अपवित्रता, अशुद्धता र निचताको अवैज्ञानिक रुढीवादी विचारबाट निर्देशित छ।

महामानव बुद्धले भन्नुभएको छ–“धर्तीमा मानव जन्म दुर्लभ परिघट्ना हो।” मानवले मानवलाई गर्ने विभेद दानवीय कार्य हो। तसर्थ दानवीयता त्यागौं, मानवीयता बढाऔं। बुद्धले भन्नुभएझै वैज्ञानिक प्रज्ञाका लागि हरेक असल, खराब, सही, गलत, सत्य र असत्यका लागि प्रश्न गर्ने गरौं। यसका लागि बौद्धिकवर्ग र प्राज्ञिक क्षेत्र तयार छ ? विएल नेपाली सेवा