वर्षाैदेखि राज्यसत्ताको दुरुपयोग र दोहोन गर्दै हुर्किरहेको सैनिक शासकको मस्तिष्क गत नोभेम्बरमा सम्पन्न पूर्ण प्रजातान्त्रिक चुनावले नै नराम्रोसँग खल्बलियाे।

म्यान्माली जनताको प्रगति र स्वतन्त्रताको सहज यात्रा देखेर तानाशाही रोइ–कराइ गरेकाे बेलाबेला आभाष हुन्थ्याे। नोभेम्बरको चुनावपछि हार–स्वीकार्नुको सट्टा सैनिक सत्ता अनेकन झुटा आरोपमै अहिलेसम्म अल्झिरहेको छ।

सैन्य जुन्ताले बन्दुकको बल देखाउँदै जनताको अधिकार खोस्ने प्रयास गरेको छ। देशमा त्रास कायम गर्ने सपना देख्छ– त्यो क्रूर शासक।

गत फेब्रअरी १ को मिर्मिरे विहानी पख असह्य पिडा लिएर बसें। मन चाहीँ उदास थियो। राष्ट्रप्रतिको चिन्ता, दिलमा पिडा नै पिडा, त्यो दुखाई र त्यो राजनीतिक चासो। एकवर्षलाई सैन्य परिषद्ले सत्ता चलाउने झेली घोषणाले मनै चिसो भयो। मौन दर्शक हुनु सिवाय केही उपाय थिएन।

जनता र राजनेतामाथि सैनिकले गरेको अत्याचारले नरमाईलो अनुभुति लिएर मन्द–मन्द पाईला चाल्दै आफ्नै दिनचार्य, कर्मक्षेत्रमा सुस्त–सुस्त विवशताका साथ फर्किनु मेराे बाध्यता थियाे। र, फर्केपनि।

त्यसदिनकाे दृश्य ठाउँ-ठाउँमा तानाशाही सैनिक तैनाथ छ। सडक धुलाे छ, मानिस छैनन्। सेकेन्ड, मिनेट, घण्टा, दिन र रात  सुनसानमै वित्छ। बस्– कोहीँ उठ्दैनन्, कोहीँ जाग्दैनन्। सैनिकले तमासा मच्चाइरहदाँसमेत बाेल्दैनन्– काेहीँ।

मनमा अनेक कौतुहलता र नरमाईलो अनुभुति हुँदा शान्तसँग बस्नै सकिनँ। हिजोभन्दा आजको म्यान्मारमा बिल्कुलै सन्नाटा छ।

प्रजातन्त्रवादी राजनेताप्रति गरिएको अन्यायमा बर्मेली समाज किन मौन ? यस्तैयस्तै सोचिरहें। स्वतन्त्रता खोसिएको पहिलोदिन अर्थात् फेब्रअरी १ को साँझ यसैगरी ढल्किन्छ। अर्कोदिन विहानैदेखि शहरहरूमा रातो झण्डा टाङ्गियो। जुन्ताको बर्बर दमन पल–पलमा बढिरहेको महसुस बाहेक केही छैन।

राष्ट्रपति र राष्ट्रमाता आङ सान सुकीलगायत प्रजातन्त्र पक्षधर सैनिकको थुनामा परेको खबर एकाएक फैलिएपछि जन–जनमा आक्रोष पैदा भयो। र, आन्दोलन अघि सर्ने अपेक्षा थोरै मनमा पलायो। डाक्टर, इन्जिनियर, शिक्षक, वकिल विभिन्न विभागबाट नागरिक अवज्ञा आन्दोलन अभियानको रुपमा प्रारम्भ हुन्छ। सैनिकले जबरजस्त हत्याएको सरकारप्रति आफूहरू सहमत नभएको विषय पत्रद्वारा जानकारी गराए र आन्दोलनमा सहभागी भए।

आन्दोलनमा मानिसको संख्या थपिँदै जाँदा कोही समाज वा जाति–जनजाति छुट्लान् भन्ने कल्पनै सकिनँ। आन्दोलनको मैदानका लागि अनेक जाति–जनजातीहरूबाट पत्रचारसँगै प्रदर्शनमा आह्वान गरियो। तर, गोर्खाली समाजबाट आधिकारिक पत्रचार भएन। तथापि स–सानो संघ–संस्थाबाट भने प्रचार गरियो।

स्वतन्त्रताको आन्दोलनमा युवा पुस्ता उकुस–मुकुस देखिन्थ्यो। जनजाती अग्रज वा नेतृत्वपंक्तिसँगै प्रजातन्त्र पुनःस्थापनाको प्रदर्शनमा सबै–सबै जाँदा हामीहरुको चित्त दुख्थ्यो। नरमाईलो महसुस गर्दै भएपनि आन्दोलनमा जादैछौं।

म्यान्मारमा बसोबास गर्ने प्रायः जाति–जनजातीमा पत्रचार भएको देखिन्छ। तर, हाम्रो अगुवा पंक्ति भने मौन छ। बस्– मौन नै रहिरह्यो। देशको नागरिकता लिएपछि नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। सामाजिक सञ्जालमा देशै थाम्ने गफ दिन पछि नपर्ने अवसरवादीहरु युवाको दृष्टि धमिलो बनाउँदा कता–कता मनै अमिलो भएको छ। हुन त, अग्रज संस्था मौन बस्नुको आफ्नै कारण होला !

युवा परिवर्तनका सम्वाहक हुन्। युवालाई न त कुनै बन्धनले छेक्न सक्छ। न त कोहीले रोकेर रोकिन्छ। देशभर आन्दोलन प्रारम्भ हुँदै गयो– देशमा गोर्खाली युवाहरूको पनि बराबरी सहभागीता छ।

शान्तिपूर्ण प्रदर्शन गर्दा–गर्दै क्रूर सैनिकले जनताको शिरमा गोली चलाउँदै मारिरहेको छ। जति-जति शहीद थपिँदै, जनता निडर भइ सामना गर्न तयार भइरहे। कतिपय युवा पंक्ति अन्य देशकाे विभिन्न दूतावास शान्ति कायम गर्न अपील गरे। युवाहरू संयुक्त राष्ट्रसंघको कार्यालय पुगेर ‘हाउ मेनी डेथबडी नीड यूएन टु टेक एक्सन’ भन्ने नारा लिएर कयौं समय पुगे।

अग्रजहरूले शान्तिपूर्ण आन्दोलन नै अपनाउन खोजे। तर, सरकारले सबै नियम उलघंन गरेको छ। निर्दोष नागरिकमाथि दिनहुँ गोली बर्साइरहेको छ। सैन्य तानाशाहीविरूद्ध पछिल्लो पुस्ता एकताबद्ध भएर डटेर लड्न युद्ध मैदानमा उत्रिएको छ।

एकबारको जीवनलाई आहुति दिँदै हरदिन युद्धभूमिमा सक्रिय छन्, युवा–युवती। बाह्य छिमेकी देशहरुले समेत म्यान्मार प्रजातन्त्र पुनःस्थापन गर्न तत्कालै कुनै कदम चाल्न सकेनन्। देश र जनताको माग अनुरुप हत्यारा सैनिकसँग पलटवार गर्न तयार छ– युवा पुस्ता। बस् अग्रजहरूबाट सुझाव भने जरुरी छ।

मोर्चाको अग्रपंक्तिमा गोर्खाली युवाहरु समेत उत्तिकै खटेर लाग्ने संकल्प गरेका छन्। तर, अगुवाको भने खाँचो नै देखिन्छ। देशमा वर्षाैदेखि सरकारी तानाशाहीविरूद्ध आवाज उठाइरहेका केएनयू, केआइए जस्ता तमाम सैन्य शक्ति एकठाउँमा एकमुठ्ठी भएका छन्।

उसो त केआइएभित्र गोर्खा बटालियनसमेत खडा गरिएको छ। जहाँ गोर्खाहरु म्यान्मार राष्ट्रको स्वतन्त्रताका लागि पुनःलड्न तयार भएर मैदानमा उत्रिएका छन्।