म्यान्मारमा सैन्य ‘कू’ पछि जातीय समूह सक्रिय रहेको क्षेत्रका नागरिकहरू गाउँ छाडेर भाग्न बाध्य भएका छन्। उनीहरू सरकारी सैनिकको हवाई आक्रमणको चपेटामा परिरहेका छन्।

जातीय समूह र सरकारी सुरक्षाकर्मीको मुठभेडले गाउँ–गाउँमा थ्रुपै बालबालिका तथा जेष्ठ नागरिकले ज्यान गुमाइरहेका छन्। स्थानीयहरू ज्यान जोगाउन जंगलछेउ तथा थाइल्याण्ड, भारत सीमा क्षेत्रमा शरणार्थी बन्न पुगेका छन्।

कहया प्रान्तस्थित ढिमसो जंगलछेउको एक शिविरमा एक हजार बढी शरणार्थीहरू बस्दैँ आएका छन्। उनीहरूलाई पछिल्लो समय दिनहुँ समस्या हुँदा सहयोगको खाँचो देखिएको मानवअधिकारवादी संस्थाहरूले जनाए।

असुरक्षित रूपमा शरणार्थी शिविरमा बसिरहेका गर्भवती महिला, बालबालिका, अशंक्त र जेष्ठ नागरिकहरूका निम्ति औषधिको अभाव भएको छ।

शिविरमा शरणार्थीहरूको बाक्लो सङ्ख्या हुँदा रासन–पानी, औषधि र बस्नका लागि पालको नभएको शिविरका कार्यवाहक प्रमुखले खित्ति समाचार केन्द्रलाई जनाएका छन्।

अहिलेको अवस्थामा शरणार्थीहरू लगातार बढ्ने क्रम जारी रहेको खित्तिले बताएको छ। प्रायः शरणार्थीहरूलाई घर–घरमा राख्ने व्यवस्था थालिएको शिविरका कार्यवाहक प्रमुखको भनाइ छ। शरणार्थीका लागि ढिमसो पुगेकाहरूको अवस्था नाजुक बन्दै गइरहेको छ।

शरणार्थी शिविरमा अहिले सबैभन्दा बढी औषधिको अभाव देखिएको छ। प्रायः गाउँबाट लुकीछिपी आउनेहरूमा गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिकहरू र जेष्ठ नागरिकहरू रहेका छन्।

अव्यवस्थित बसाँइ र खानपानको व्यवस्था राम्रो नहुँदा उनीहरू विभिन्न रोगको चपेटामा परेका छन्। औषधि अभावले उनीहरूलाई बचाउनै मुस्किल परेको छ।

शरणार्थीहरको संख्या धेरै हुँदा औषधिसँगै रासन–पानीको समस्या समेत देखा पर्न थालेको छ। सरकारी सैनिकको ज्यादतीले गाउँ–गाउँबाट भागेर आउने कतिपयहरूले पैसा ल्याएपनि सर–सामानको भाउ आकाशियको छ। ढिमसो क्षेत्रमा किनेरै पाइने सामानको समेत चरम अभाव छ।

मानिस ह्वात्तै थपिएपछि औषधि पाउँनै छाडेको शिविर आसपासमा शरणार्थीहरूको स्वास्थ्य रेखदेख गर्ने स्वायमसेवकहरूले बताएका छन्। उनीहरूले औषधि वितरण गर्ने व्यक्ति वा संस्था खोजेपनि नभेटिएको दुःखेसो गरे।