२५असार, बैंकक । थाइल्याण्डकै चिआङ माई शहर की ३० वर्षीया युवती अन्ना बैंकक बस्न थालेको सात वर्ष भयो । उनको परिवार चिआंग माईमै बस्छ। सात वर्षअघिसम्म उनी पनि उतैै थिइन्। कोरोना भाइरसको विश्वव्यापी महामारीको संत्राशपछिको ‘लकडाउन’ ले अन्ना खुल्न पाएकी छैनन् तर कामको भने दुःख छैन।

चिने–जानेका ग्राहकहरू उनीसम्म सहजै आइपुग्छन्। बैंककमा पहिलेजस्तो रमझम नभए पनि जिउन, रमाउन र खर्च गर्न कुनै कुराको अभाव छैन।

‘मकहाँ आउनेहरू सुझाव दिन्छन्– यो धन्दा बन्द गर। यस्तो महामारी फैलिएको छ। बरु सिलाईकटाई या खाना पकाउने काम थाल’, यौनकर्मी अन्नाले भनिन्, ‘मैले यहीपेशा रोजेँ। राम्रो लाग्छ, सन्तुष्ट छु। यो काम थालेको १४ वर्षभन्दा बढी भो, यसमै गौरव छ। मेरो काम पनि अरु पेशाका मान्छेको जस्तै त हो नि !’

कोरोनाले उनका कतिपय योजनाहरूमा धक्का लागेको छ तर त्यो सपना एक दिन पूरा हुने उनको विश्वास छ। ग्राहकहरूउनीप्रति स्वास्थ्य सुरक्षाको चिन्ता गर्छन्। अन्ना आफैँ पनि त्यो कुरामा सजग छिन्। उनले भनिन्, ‘जुनसुकै काममा पनि आफ्नो सुरक्षा पहिलो चिन्ताको विषय हो। काम गर्ने क्रममा अरु पेशाकर्मीजस्तै मभित्र पनि सुरक्षाको डर छ र सुरक्षित हुन्छु।’

थाइल्याण्डमा कोरोना त्राशघटेपछि आफ्नो परिवार भेट्न चिआङ माई जानेअन्नाले बताइन्। एक महिना आफ्नो जन्मथलोमा बसेर पुनः बैंकक फर्किने योजनासमेत सुनाइन्।

अन्नाले भनिन्, ‘म जवान छु। अझै काम गर्न सक्छु। ग्राहकहरूको सन्तुष्टिमा म पनि रमाउँछु,’ थाइल्याण्डमा अन्नाजस्तै कम्तिमा दुई लाख यौनकर्मी सक्रिय छन्। बन्दाबन्दीले उनीहरूको पेशालाई धेरै समस्या परेको छ। उनीहरूले यौन कर्म गर्न नपाएको महिनौँ भइसक्यो। कतिपय त गाउँ फर्किए तर प्रवासी र थ्रुपै अरु यौनकर्मी बेरोजगार छन्।

अर्की २४ वर्षीया यौनकर्मी मोसचर्चित पर्यटकीय शहरपटायाको समुन्द्री तटमा दिनहुँ भेटिन्छिन् तर उनले काम नपाएको ६ महिना जति भयो। उत्तर–पूर्वी सीमा क्षेत्रको ग्रामीण बस्तीबाट ठूलै सपना बोेकेर यहाँ आएकी उनी निराश भएकी छिन्, आजकाल ।

बैंकक मात्रै होइन, पटाया शहरको ‘रेड लाइट’ क्षेत्रमा रंगीन बत्ती बल्न छाडेको महिनौँ भएको छ। पटाया थाइल्याण्डको दोस्रो ठूलो पर्यटकीय शहर हो।

हाई–स्कूलको पढाई छाडेर यौनकर्मी बनेकी हुन्– मोस । पछिल्लो समय आफ्नै पेशामा खुशी थिइन्। तर, कोरोनाले सबै–सबै बर्बाद पारिदियो। धेरै पैसा कमाएर गाउँमा पक्की घर बनाउने सपना छ उनको ।

मोस आफूले पढ्न पाइनन्। उनलाई पढाइको महत्वबारे राम्रो ज्ञान छ। गरिबीले आफू पढ्न नपाएकी उनी एउटाभाइ र बहिनीलाई कलेजसम्म पढाउने प्रतिज्ञा गरेर बैंकक आएकी हुन्।

उज्याला बत्तीको झल्मल प्रकाशसँगै रमाउने होटल, रेस्टुरेन्ट, बार, क्लब र यातायात व्यवसायीहरूसमेत दिक्क छन्। उनीहरु बन्दाबन्दीयता केही कमाइ नभएको दुःखेसो गर्छन्।

कहिल्लै नसुत्ने पटाया शहर आजभोलि मस्त निन्द्रामा सुतेको छ। छोटा–छोटा मिनी स्कर्ट लगाई ‘पटाया बिच’ मा भेटिने राजकुमारीहरू भेटिँदैनन्।

लाखौँ पर्यटक हरेक वर्ष थाइल्याण्डको रंगीन संसारमा भुल्नयहाँका चर्चित पर्यटकीय क्षेत्रमाआउँछन् तर कोरोना महामारीका कारण ती पाहुना भुलाउने यहाँका ‘राजकुमारी’ अर्थात् यौनकर्मीहरूले विदेशीको मुख देख्न नपाएको महिनौँ भयो । अहिले थाइल्याण्डका न पर्यटक छन्, न रंगीन स्थलखुलेका छन् ।पाहुना भुलाउने राजकुमारी अर्थात् यौनकर्मीहरूको दैनिकी पनि असहज बन्दै गएको छ– काम र दामको अभावमा ।

थाइल्याण्डमा देशका अन्य नागरिकले नपाएको सुविधा यौनकर्मीहरूले पाउँदैआएका छन्– जस्तैः स्वास्थ्य बीमा र काम गर्ने निश्चित समय। बैंककको विश्व चर्चित ‘रेड लाइट’ क्षेत्रमा सन् २००६ देखि ‘एमपावर फाउन्डेशन’ले यौनकर्मीहरूको स्वास्थ्यको गम्भीर चिन्ता व्यक्त गर्दै ‘सहयोग समूह’ स्थापना ग¥यो। यौनकार्यमा लागेका महिलालाई तनाव र समस्याबाट टाढा राख्नुफाउण्डेशनको उद्देश्य छ।

विभिन्न यौनगृहमा हजारौँ थाई तथा प्रवासी यौनकर्मीहरूको ठूलो जमात रहेको छ। उनीहरू कतिपय बाध्यता, रहर र सांस्कृतिक रुपमा लामो समयदेखि जोडिँदै आएका छन्।

थाइल्याण्डको बैंकक, पटाया र फुकेट शहर कोरोना महामारीले नराम्ररी थलिएको छ। हजारौँ मानिसको चहलपहल हुनेगल्ली र चोकहरू अहिले सुनसान छन्।

थाइल्याण्डको अर्थतन्त्रको ठूलो हिस्साप्राकृतिक र यौन–पर्यटनसँग पनि जोडिन्छ। तर, लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा कुनैपनि विदेशीहरु भित्रिन पाएका छैनन्।

साँझपखधपक्क बल्ने रंगी–बिरंगी ‘राता बत्ती’ हरू आजकाल खासै बल्दैनन्।विदेशी पर्यटक भुल्ने यहाँका ‘रेड लाइट’ क्षेत्रहरु कोरोनाका कारण पूर्ण रुपमा ठप्प छन्।

थाइल्याण्ड देख्ने र भोग्नेहरूका लागि अहिले बिल्कुलै भिन्न छ। देख्दा त रमिता नै देखिन्छ तर भोग्नेहरूको लागिकहालीलाग्दो छ– दुःखै–दुःखको पहाड जस्तो।

सुखका भन्दा दुःखकै बढी भेटिन्छन्– यौनकर्मीका कथा। कोरोना महामारीले झन् खोलिएको छ, पर्दा। यौनकर्मी मात्रै नभनौँ, होटल, रेस्टुरेन्ट, बार र मजास सेण्टरमा काम गर्नेहरूसमेत ठूलो मारमा परेका छन्। उनीहरू घर फर्किनसक्ने अवस्थामा पनि छैनन्।
थाइल्याण्डको बैंकक, पटाया, फुकेट शहरमाआन्तरिक तथा विदेशी पर्यटकहरूछैनन्। यौन बजारमारमाउने विदेशी पाहुनाहरू नहुँदा यौन अड्डाहरू सुनसान् छन्।

बैंकक र पटायामा अन्ना र मोसजस्ता हजारौँहजारका आ–आफ्नै दुःख र खुशीहरू छन्। यहाँ अन्नाजस्ता कम छन् । मोसजस्ता धेरै भेटिन्छन्। जो–जो अन्ना छन् उनीहरू साँच्चिकै भाग्यमानी छन्। तर, हजारौँमोसहरूको पीडा बुझिदिने कसले ?