२५असार, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा गत मंसिरयता सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् ।

लामो समयसम्म सामाजिक सुरक्षा नपाउदा बृद्धबृद्धा तथा अपाङ्गहरु मर्कामा परेका छन् । ८ महिनासम्म बृद्ध भत्ता नआउदा आफूहरुलाई उपचार तथा पोषण युक्त खानपिनबाट बञ्चित हुनु परेको गंगादेव गाउँपालिका–६ का बृद्ध तुलबहादु खत्रीले गुनासो गरे ।

‘वडाध्यक्षलाई फोन गरेर सोध्दा अहिले व्यस्त छु भन्दै फोन काट्नु हुन्छ’ खत्रीले भने ‘गाउँपालिकामा सोध्दा पनि अब आउछ भन्छन ।’

उता गाउँपालिकाले भने कोरोना महामारीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई भएको जनाएको छ ।

मंसिरदेखि फागुनसम्मको दोस्रो किष्ता बैंकमा पठाइसकेको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख तिर्थराज ओलीले बताए ।

‘अब केहि दिनमा बैंकले उहाँहरुलाई खबर गर्छ होला’ उनले भने ‘असारसम्मको तेस्रो किष्ता पनि पठाउने तयारी भइरहेको ।’

बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैंकले पनि ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

बैंकले एकै पटक सबैलाई दिन नसक्ने भन्दै वडा अनुसार पालैपालो गर्दा ढिलाई हुने गरेको सेवाग्रीको गुनासो छ ।

गाउँपालिकामा एउटा मात्रै बैंक हुदा अहिले असार मसान्त लागेको भन्दै बंैकले साउनमा मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ ।