नेपाली काँग्रेसलाई जीवन्त राख्ने अभियानमा सरिक बनौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको वडा अधिवेशन २०७८/०५/१८ गतेदेखि सुरु भएको छ । यो नेपाली कांग्रेसको हरेक ४ वर्षमा नेतृत्व निर्माणका लागि हुने महान पर्व हो । यस महान पर्वमा नेपाली कांग्रेसमा खुसीयाली छाउने त छाउँदैछ ।

नेतृत्व परिवर्तन र नेतृत्वमा नवीन उर्जा भर्ने समय पनि हो । यस महान अभियानमा देशभरका दश लाखको हाराहारीमा क्रियाशील सदस्य सहभागी भएका छन्। भने दशौँ लाख समर्थक तथा शुभेच्छुकहरूको आत्मबलपूर्ण शक्ति मिसिएको छ ।

आजको दिनमा देशको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणका लागि गौरवपूर्ण इतिहास बोकेको नेपाली कांग्रेसलाई सिङ्गो देशले नजर लगाएको छ ।

नेपाली जनताको नजरमा निरन्तर सामाजिक परिवर्तनका लागि अगुवाइ गरिएको लोकतान्त्रिक अग्रणी पार्टी हो नेपाली काँग्रेस । आजको दिनमा नेपाली काँग्रेसको युवा पुस्तामाथि नेपाली जनताको ठूलो आशा र भरोसा चुलिएको छ ।

आम नेपाली कांग्रेसका सदस्य र जनताको भरोसालाई पूरा गर्ने दायित्व पनि युवा पुस्ताको काँधमा आएको छ । यो हामी सबै नेपाली कांग्रेसका लागि स्वर्णिम अवसर हो ।

निकत भविष्यमै आउने तीन वटै तह संघीय , प्रदेश र स्थानीय तहको चुनावका अब आउने नेपाली काँग्रेसको नेतृत्वले प्रतिस्पर्धा गर्नुपर्नेछ । साथै आजको सदस्यले देशले नै गौरव गर्ने नेतृत्व तयार गर्नुपर्दछ ।

गौरवपूर्ण इतिहास, भरोसा योग्य वर्तमान र उज्ज्वल भविष्यको निर्माण गर्ने नेतृत्वका लागि पनि नेपाली काँग्रेसको वडा अधिवेशन महत्त्वपूर्ण कडीको रूपमा रहेको छ ।

आजको नेपाली कांग्रेसका सदस्य जनताको नजरमा नमूना योग्य पात्रको रुपमा देखिनुपर्दछ । नेपाली कांग्रेस रोल्पाको २०७८÷०५÷२३ गते हुने वडा अधिवेशनले काँग्रेसका नेता र कार्यकर्ताको मन जोड्नुपर्दछ ।

नेपाली कांग्रेसका कार्यकर्ताको जनतासँग भावना जोडिने अधिवेशन बन्नुपर्दछ ।

रोल्पाको गाउँबस्तीमा जनताको सुखदुःखमा सँगसँगै हातेमालो गर्ने इमानदार पार्टी सदस्यको मुहारमा मुस्कान छाउनुपर्दछ । वडा अधिवेशनमा सहभागी क्रियाशील सदस्यले जनतासँग जोडिएका नेपाली कांग्रेसका पार्टीका सदस्यको भावनामा चल्ने जनताको आशा र भरोसा भएको उर्जाशिल नेता छनौट गर्नेछन् । कार्यकर्ताले नेता खोज्ने होइन नेताले कार्यकर्ता खोज्ने नेतृत्व खोजी गर्ने छन् ।

जनताको घरआँगनमा पुग्दा जनतामा आशाको दियो बल्ने, व्यक्ति भन्दामाथि उठेर जनताको सेवामा समर्पित समाजको उज्ज्वल भविष्यका लागि लक्ष्य, उद्देश्य, आँट र भरोसाले पूर्ण विकास र परिवर्तनको योजना भएको योजनाकार नेतृत्व छनौट गर्नेछ ।

नेतामुखी नेतृत्व होइन जनतामुखी नेतृत्व निर्माणको आधार तय गर्ने काम रोल्पाका नेपाली कांग्रेसका ७२ वडाका ४५९७ क्रियाशीलको काँधमा आएको छ ।

यो महान अभिभारा पूरा गर्ने दायित्व पनि तिनै आम क्रियाशील सदस्यलको हो र तिनैले नै पूर्ण गर्नेछन् । हामी सबै क्रियाशील सदस्य यो अभियानमा सरिक हुनेछौं ।

साथै हामी सबैले आफ्नो योगदान योग्यता क्षमता र कार्यकर्ताको आवश्यकता अनुसारको जिम्मेवारी वा नेतृत्व लिनेछौं । कसै व्यक्तिको चाहना र भावनामा चल्ने नेता होइन नेपाली कांग्रेसको सिद्धान्त आर्दश नीति विधि पद्धतिमा चल्ने नेता वा नेतृत्व निर्माण गर्नेछौं ।

मेरो हार्दिक अनुरोध छ , रोल्पाली आम कार्यकर्ता जनताको मन मुटु र गतिमा आशाको संचार गर्ने सहमति सहकार्य र एकतालाई कायम गरौं । स्वच्छ नेतृत्व निर्माणका लागि वाद विवाद संवादलाई कायम राख्दै लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धात्मक गर्नैपर्ने अवस्थामा गुटको वायुपङ्खी घोडामा सवार गरेर नेपाली कांग्रेसको असली गुणलाई मृत्युुवर्ण गर्न दिने छैनौं ।

लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने अन्य नेपाली कांग्रेसका प्रतिस्पर्धी राजनीतिक दललाई समेत यो महाधिवेशन शिक्षा हुनेछ । यो नेपाली कांग्रेसलाई थप जागरुक बनाउने अभियानमा सरिक बनौं ।

(रोल्पा नगरपालिका वडा नम्बर १० धबाङका थापा नेपाली काँग्रेस क्रियाशील सदस्य हुन । )

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस