नियात्रा :

खुंग्रीदेखि लिबाङसम्म ६ घण्टाको पैदल यात्रा

२०३३ सालमा चार कक्षाको नयाँ किताव किन्नका लागि म साथीसँग सदरमुकाम लिबाङ जाँदाका सम्झना अझै मानसपटलमा ताजै छन् । खुंग्रीको धारापानीबाट विहानको खाना खाएर हामी उकालो चढ्दै लिबाङतर्फ लाग्यौँ । त्यतिबेला हाम्रो खुट्टामा जुत्ता लगाउन पाउने अवस्था थिएन । खुट्टामा मुस्किलले चप्पल हुन्थ्यो ।

झोरा हुँदै डेढ घन्टाको उकालो चढेपछि खुंग्रीकोट पुग्यौँ । खुंग्रीकोटको बस्ती सुन्दर नै लाग्यो । दायाँतर्फ खुंग्रीकोट दरबार देखिन्थ्यो । झिङटीले छाएको त्यो दरबार हेर्न जान अनुकूल मिलेको थिएन । दरबारका अन्तिम राजा फत्तेप्रचण्ड सिंहसँग मैले गोधुङमा गाई चराएको र कुराकानी गरेको सम्झना अझै छ ।

पिपलको बोटमुनि एकछिन थकाई मेटेर फेरि हल्का तेर्सो र उकालो चढ्दै तिमिले हुँदै भाल्जीबाङ पुग्यौँ । त्यसपछि तत्कालिन खुंग्री पञ्चायत अन्तर्गत पर्ने गोगनपानी भन्ने ठाउँमा गएर एउटा चिया पसलमा बसेर चिया पियौँ । त्यतिवेला एक गिलास चियाको २५ पैसा पर्दथ्यो ।

गोगनपानीमा गिरी–पुरीको सानो बस्ती छ । त्यहाँबाट उत्तरतर्फ तलतिर हिले भन्ने गाउँ सुन्दर देखिँदा आनन्द लाग्यो । हिँडाईका कारण ज्यानमा उत्पन्न तापले खासै जाडोको महसुस भने भएको थिएन । पुस महिनाको जाडोमा पनि हामी एकसरो कमिज र पाइन्ट लगाएका थियौँ । त्यतिबेला ज्याकेट र स्वीटर कहाँ पाउनु ?

आशेओडार पुगेपछि एकछिन विश्राम गरेर फेरी लाग्यौँ आफ्नो बाटो । हलहलेको लेकमा पुगेपछि झन चिसोचिसोको महसुस भयो । सातदोबाटो पुगेपछि घरबाट बोकेर लगेको चिल्लेरोटी र भाँगो मिसाइएको आलुको अचार खायौँ । एउटा चिया पसलमा पानी मागेर पियौँ ।

सातदोबाटोमा त्यतिवेला अहिलेको जस्तो बजार थिएन, बढीमा तीनवटा दुकान र होटल मात्र थिए । सातदोबाटोबाट लिबाङबजारको केही भाग अर्थात् प्रमुख जिल्ला अधिकारीको कार्यालय रहेको भाग देखिन्थ्यो । नरिवलको जस्तो देखिने एउटा रुख पनि प्रष्टै देखिन्थ्यो ।

मैले लिबाङ सुनेको मात्र थिएँ तर देखेको थिएन । २०३२ सालसम्म खुंग्री प्यूठानमा पर्ने भएकोले हाम्रो प्रशासनिक कामका लागि प्यूठानको खलंगा पुग्नुपर्दथ्यो । सातदोबाटोबाट देखिएको दृश्यले लिबाङ निकै राम्रो र सुन्दर होला भन्ने अन्दाज भयो । ज्यानमा चिसो महसुस हुनथालेपछि हामी लाग्यौँ ओरालैओरालै लिबाङतर्फ । बाटोमा ठाउँठाउँमा ओखरका ठूलाठूला रुखहरु देखिन्थे । भदौमा मेला लाग्ने भदौरे पुगेपछि अलि अलि चिसो घट्दै गएको महसुस भयो ।

धारापानीपछि बामरुक हुँदै हालको सैनिक ब्यारेक भएनिर पुगेपछि लिबाङका सेतासेता घरहरु देखिए । त्यतिबेला लिबाङमा अहिलेका जस्ता पक्की घर हुने कुरै थिएन । किन कि यातायात र ढुवानीका साधनहरु संचालनमा थिएनन् । स्लेट ढुंगाले छाएका सेता सेता घरहरुले लिबाङ बजारको सुन्दरतामा अझ सुन्दरता बढाएको पाइन्थ्यो । त्यतिबेला सैनिक ब्यारेक भए नभएको बारे सम्झना भएन । बाटोबाट देखिने अग्लाअग्ला खालका टोड्के लेक र लाहा लेकले पनि भौगोलिक सुन्दरता बढाएको पाइयो ।

खुंग्रीबाट प्रस्थान गरेको ६ घन्टापछि अर्थात् चारबजेतिर लिबाङ पुग्दा साँझ पर्नथालेको थियो । लिबाङमा जाडो मौसममा दिउँसो तीन नबज्दै घाम अस्ताउने गर्छ । एक त चिसो ठाउँ त्यसमाथि दिउँसै साँझ परेजस्तो देखिने लिबाङको जाडो पचाउने काम भयो । ‘केटाकेटीको जाडो बाख्राले खान्छ’ भन्ने भनाई हामीले त्यसअघि नै सुनेका थियौँ । बेलुका सानीआमा अम्बिका आचार्यको घरमा बास वसेर त्यहीँ खाने र सुत्ने काम भयो ।

भोलिपल्ट विहान पुस्तक पसलमा गएर एकसेट पुस्तक किन्यौँ । पछि मेरा साढुदाइ बन्नु भएका स्व. चिन्तामणि आचार्यको घरमा पुस्तक पसल थियो । एकसेट पुस्तकको मूल्य जम्मा ३५ रुपियाँ पर्दथ्यो। अहिलेको जिल्ला समन्वय समितिको कार्यालयतिर जाने बाटोको दायाँतिर बंशी नामका पसलेले जिलेबी बनाउथे । शुद्ध घिउमा बनाइएका जिलेबी ज्यादै मीठा लाग्यो । अलि वर मार्कण्डेको पसल थियो । उनको पसल अरुको भन्दा बढी चलेको देखिन्थ्यो ।

दामोदर आचार्यको पसल लिबाङमा सबैभन्दा ठूलो पसल भनेर भनिन्थ्यो । लिबाङमा त्यतिबेला ब्राह्मणहरुमा आचार्यहरुको संख्या धेरै थियो । थोरै थोरै न्यौपाने र रिजाल पनि भएको कुरा पछि मात्र थाहा भयो । पुस्तक किन्ने काम सकिएपछि भोलिपल्ट विहानै हामी एकदिनअघि आएको बाटोबाट फर्किएर खुंग्रीतर्फ लाग्यौँ ।

२०४० सालअघि रोल्पामा फाट्टफुट्ट ट्याकटरहरु चल्दथे । कोही कोही लिबाङदेखि घोराहीसम्म पनि ट्रेक्टरबाट कष्टकर यात्रा गर्दथे । सडक विभागका कर्मचारीले खुंग्रीसम्म मोटरसाइकल पनि लैजान्थे । बाटोमा देखिने मोटरसाइकल र ट्याकटरका पांग्राका बुट्टेदार डोब देख्दा हामी अचम्मित हुन्थ्यौँ ।

खुंग्रीको धारापानीस्थित आफ्नो घरदेखि चतुर्भुजसम्म जाँदैगरेको ट्याकटरको पछाडि ट्रालीमा उभिँदा चक्कर लागेको महसुस भएको थियो । ट्याकटरले फ्याँक्ने डिजेलको धुवाँ र फाट्टफुट्ट रुपमा चल्ने जीप तथा मोटरसाइकलले फ्याँक्ने पेट्रोलको धुवाँ पनि वास्नादार लाग्थ्यो । अहिलेको जस्तो नमिठो गन्ध लाग्दैनथ्यो । खुंग्रीमा २०३५ सालमा पहिलोपटक जीप पुगेको थियो । जीपलाई देखेर एकजना वृद्ध महिलाले सोध्नुभयो– “यो गाडी उभिएको हो कि बसेको हो ?”

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस