२४ पुस, रोल्पा ।
संसद विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र पेश गरेको छ । पार्टी (प्रचण्ड–माधव)को केन्द्रीय कार्यक्रमअनुसार देशभरबाट प्रधानमन्त्रीलाई विरोधपत्र पेश गरिएको नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीले जानकारी दिनुभयो ।
विरोधपत्रका सन्दर्भमा बोल्दै नेकपा रोल्पाका इन्चार्ज तथा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमका विरुद्ध निरन्तर संघर्ष गरिने उद्घोष गर्नुभयो । ‘हाम्रा विरोधका कार्यक्रमहरु देशभर चलिरहेका छन्’ पुनले भन्नुभयो, ‘प्रधामन्त्रीले गल्ती नसच्याए विरोधका कार्यक्रम थप सशक्त बन्नेछ ।’
त्यस्तै विरोधपत्रबारे जानकारी दिँदै नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीले गत ५ पुसमा संविधानको ठाडो उलंघन गरी जनप्रतिनिधिहरुको संस्था संसद विघटन गरिएकोप्रति आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीलाई सम्बोधन गरिएको विरोधपत्रमा ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक, राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम भएको भन्दै उक्त कदम सच्याउन चेतावनी दिइएको छ ।
विरोधपत्रमा भनिएको छ, ‘हामी अझै पनि तपाइँ (प्रधानमन्त्री)लाई आफ्नो असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सूचारु गरी संविधानलाई क्रियाशील बनाउने पक्षमा आउन अनुरोध गर्दछौं, र सच्चिन अवसर प्रदान गर्दछौं ।’ शुक्रबार विरोधपत्र पेश गर्न नेकपा कार्यकर्ता नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले सक्दो छिटो प्रधानमन्त्री कहाँ बुझाउने जानकारी दिनुभयो ।