२७ असोज, रोल्पा । सनस्टार युवा क्लब, रोल्पाको घुम्ती बैठकको लिस्ने संस्करण नौबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
असोज २५ र २६ गते लिस्नेमा सम्पन्न बैठकले पर्यटन प्रवर्द्धन, युवा परिचालन, कला-संस्कृतिको संरक्षण तथा सञ्चार प्रविधिको विकासलाई प्राथमिकतामा राख्दै नौबुँदे घोषणापत्र जारी गरेको हो।

बैठकले रोल्पा र प्युठान जिल्लाको सिमानामा अवस्थित लिस्ने क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। उक्त क्षेत्रको पर्यटकीय सम्भावनाको पहिचान, प्रचारप्रसार तथा प्रवर्द्धनमार्फत स्थानीय पर्यटन विकासमा योगदान पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

घोषणापत्रमा साहित्य, पर्यटन, कला-संस्कृति र सञ्चार प्रविधिबीच समन्वय गर्दै यी क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख छ। साथै, रोल्पा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन करिडोर निर्माण गर्न राज्यका निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
क्लबका अध्यक्ष पूर्ण केसीले घुम्ती बैठकले स्थानीय पर्यटकीय सम्भावनाको पहिचान, युवाहरूबीच सहकार्य विस्तार तथा साहित्य, कला-संस्कृति र सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको बताए। उनका अनुसार बैठकले स्थानीय पर्यटन प्रवर्द्धनसँगै युवा परिचालन र सांस्कृतिक पहिचानको संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ।



