कविता :

अनुस्मृति : एक छापामार

एक तमास हराइरहन्छ मन
सम्झनाहरूको घनघोर जङ्गलभित्र
सम्झिरहन्छु
हुस्सुले छोपिएको बिहानी राजमार्ग
लाग्छ, पर तिम्रै आकृतिहरू चल्मलाइरहन्छन् ।

किताबका अक्षरहरूमा
झिम्किन्छन् तिम्रा बदामी आँखाहरू
तिमीले छोडेर हिँडेका अन्तिम उपहारहरू
जिस्किन्छन् दिनदहाडै ।

हरपल सम्झिरहन्छु
झुम्के बुलाकी जडिएको तिम्रो अनुहार
र रैयाँले बाँधिएका पाखुराहरू
बार्दलीमा मुस्कुराइरहने गुलाफ
सदरमुकामका भित्री गल्लीहरूमा सुनिएका प्रेमकथा
फेरि भेटिने योजनामा छोडिएको बस-स्टेसन
र साँझमा पर्खिबसेको त्यो अर्को गोधूलि साँझ …

एक्लो बाटो देखेर
ठिङ्ग उभिएको एउटा रुख देखेर
मलाई मेरै सम्झना आउँछ
एकै सिरानीमा गाँसेका
हाम्रा आँखाहरूले देखेको सपना- एउटै थियो,
र दुई जोडी खुट्टाहरूले हिँड्ने गन्तव्यको यात्रा
एउटै लयमा गाइहिँड्ने गीतको भाका- एउटै थियो ।

तर अन्तिमपटक
रगतले भिजेको कम्ब्याट पोसाकभित्र
तिमीले फेरेको चिसो श्वासको झोक्का लिएर
म बाँचिरहेछु ।

र लेखिरहेछु लेख्न अधुरै रहेको
युद्धको प्रस्तावना ।

०००

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस