तेरो मेरो सकल मनका द्वेष सारा पखाली।
पारूँ बस्ती झलमल सबै ज्ञानको दीप बाली।।
मीठो बास्ना मधुमिलनका प्रीति नौला बसाली।
राखूँ मेरै हृदयतलमा देश आफ्नै अँगाली।
पोखूँ मैले रगतपसिना देशकै निम्ति सारा।
यै माटोमा अलिकति गरी तिर्न पाऊँ म भार।
साक्षी राखी अमर रचना मुक्तिको श्वास पाऊँ।
आफ्नै माटो भुवनतलमा जिन्दगी यो बिसाऊँ।।
जे छन् मेरा तनमन सबै, सीप सारा लगाऊँ।
ढुङ्गा फोरी लहलह हुने मोतीदाना फलाऊँ।।
नौलो आशा नवरस छरी स्वर्गजस्तै बनाऊँ ।
सिङ्गारी यी करकमलले देश आफ्नै सजाऊँ।।
भोका नाङ्गा दुःखित मनमा हर्षले मुस्कुराऊँ ।
अल्छी लाटा सकल जनमा जोशले जुर्मुराऊँ ।।
माया फल्ने जगत्भरमा प्रेमको वृक्ष रोपूँ ।
सच्चा मान्छे सरल मनका कर्मयोगी म खोजूँ।।
छोडी मीठा नवकृति, कला, सिर्जनाका निशानी ।
ल्याऊँ आफ्नै अवनितलमा स्वर्ण यौटा बिहानी।।
इच्छा यै हो, जनहित हुने कर्म केही गरूँ म ।
हाँसीहाँसी चयन मनले देश हेरी मरूँ म।।



