प्रिय लिस्ने !
तिमी केवल पहाड मात्रै होइनौँ,
तिमी त इतिहासको छातीमा गडिएको
वर्गसंघर्षको प्रतिबद्ध छाप हौँ,
अन्यायका फलामे ढोका भत्काउन
कफन बाँधेर हिँडेका वीरयोद्धाहरूको
अदम्य साहस र पदचाप हौँ।
मुक्ति र मृत्युका प्रतिनादहरु ओकल्ने
आवाजविहीनहरूको चीत्कार हौँ,
अत्याचारका भीषण हुरीसँग जुध्ने
कमजोरहरूको भरोसा हौ।
निःसन्देह,
तिमी मानवमुक्तिको
एउटा अविस्मरणीय इतिहास हौँ।
प्रिय लिस्ने !
अझैसम्म पनि
तिम्रो छातीभरि कोरिएका
रगतका हस्ताक्षरहरू मेटिएका छैनन्,
बिहानी लिएर फर्कने वाचा गर्दै
मृत्युसँग पौठेजोरी खेल्न गएका
तिम्रा सन्तानहरू अझै भेटिएका छैनन्।
राक्षसी प्रवृत्तिले लुटेको
घाइते अस्तित्व बोकेर
तिम्री प्रियसी अझै चिच्याइरहेकी छिन्, घरीघरी
तिम्रा दाजु, शरीरभरि छर्राका घाउ बोकेर
अस्पतालका शय्यामाथि
छटपटाइरहेका छन्, जीवनभरी ।
तिम्रो चुलोमा आगो बल्न नपाउँदै,
श्रमका पसिनाले जीवन फल्न नपाउँदै,
तिम्रा आँगनमा उन्मुक्तिका फूलहरू
मुस्कुराउन नपाउँदै-
समयले तिम्रा सपनाहरूलाई
अधुरै छाडेर अगाडी बढ्यो ।
प्रिय लिस्ने !
तिमीसँग अरु विडम्बनाहरु पनि छन्
तिमीलाई सम्झनेहरूको संख्या घढ्दै गए,
तिम्रा राता इतिहास कुल्चनेहरू बढ्दै गए।
तिम्रै नामको झन्डा बोकेर
आफ्नै स्वार्थको बाटो खन्नेहरू,
तिम्रै शिखरमा उभिएर
आफ्नो उचाइ नाप्नेहरू,
तिम्रो मुटु बेचेर
तिम्रै आत्मा किन्न खोज्नेहरू-
आज प्रतिस्पर्धामा छन् ।
हो, साच्चै प्रतिस्पर्धामा छन् ।
सायद यही दृश्य देखेर,
यही मौनता सहेर,
तिमी वर्तमानको आँखामा आँखा जुधाउँदै
एउटै प्रश्न दोहोर्याइरहेका छौँ-
विगतका बलिदानहरू
केवल सत्ता बदल्नका लागि थिए ?
कि समाज बदल्नका लागि पनि ?
तर वर्तमान चुपचाप छ,
एकदम चुपचाप !
सायद उसको कानमा
स्वार्थको कपास कोचिएको छ ।



