जुतुङ्ग खोला तरेर
काटेर कैयौँ सुन्दर घुम्तीहरू
छिचोल्दै पहाडका अनुपम थुम्काहरू
प्राकृतिक लिस्नाका कैयौँ खुड्किला पार गर्दै
खोज्दै-खोज्दै जाँदा भेटियो
सहरको कोलाहलभन्दा पर
बादलभन्दा पनि माथि
सबैले सुने पनि आफैँमा लुकेको
स्वर्गभन्दा पनि सुन्दर
महान् लिस्ने लेक।
बाटोभरि पढ्दै आयौँ
युद्ध र हतियारका कुरा
रगत र आँसुका कथा
रगतले साटिएका परिवर्तनका कुरा
व्यवस्था परिवर्तनका खातिर चढेका
मान्छेका बलिका कथाहरू।
सहिदको रगतले सिञ्चित
महान् गाउँ तेबाङ
गाउँभन्दा माथि लस्करै लागेका
सहिदका सालिकहरू
शान्ति बाटिका
सुन्दर लेकाली पर्यावर
यी सबैभन्दा माथि
लेकहरूको पनि लेक
महान् लिस्ने लेक।
गुलाबी बिहानीसँगै झुल्किएका
सुनौला घामका डल्लाहरू
तेबाङ र अरेस गाउँमा घाम खस्नुअघि नै
पोखिँदा रहेछन् यतै
पोतेर परिवर्तनको नयाँ रङ
चारैतिर झलमल्ल पार्दै
दिँदै न्यानाेपन सबैलाई
वरिपरि नियाल्दै अरुलाई
अरूभन्दा अटल र उच्च रहेछ
महान् लिस्ने लेक।
जाडोको तानाशाही झापड सहेर पनि
अँध्यारोलाई कुल्चिएर
उज्यालाका रङ्गीन रङहरू भर्दै
मधुर चराको आवाजसँगै
बतासको स्पर्शसँगै
आकाश मुनितिर बसेर
परिवर्तन र शान्तिको बिगुल बजाउँदै
सबैतिर चेतना छर्ने
महान् लिस्ने लेक।
राज्यपोखरीका ती कथाहरू
लेकगाउँका भिडन्तका व्यथाहरू
मालारानीका महानताहरू
खड्के भिरका सङ्घर्षका कथाहरू
कति होलान् अझै यस्तै लुकेका अरू व्यथाहरू!
सबै सहेर पनि अटल रूपमा रहेको
सहरको तछाडमछाडभन्दा पर
अबोध बालकको मुस्कानजस्तो मधुरता
आमाको स्नेही काखजस्तो शीतलता दिएर
शान्त रूपमा ठिङ्ग उभिएको
महान् लिस्ने लेक।
हरियो गलैँचा बिछ्याएजस्तो आँगन
स्वर्गजस्तो वातावरण
चारैतिर देखिने सुन्दर दृश्यहरू
यो शान्तता
शीतलता
निश्चलता
महानता
जसले
हटाइदियो मन र तनभरिको थकान
भेटाइदियो आफैँबाट टाढा भागेको मुटुको धड्कन
चिनायो आफूभित्रको आफूलाई।
खोसेर लगिदियो लिस्नेले
मेरा हतार
स्वार्थ
लोभलालच सारा
तछाडमछाड सबै बिर्साएर
मान्छेलाई साँच्चिकै मान्छेजस्तो बनाउने
महान् लिस्ने लेक!


