१८ कात्तिक, रोल्पा । रोल्पाको होलेरीमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। जिल्लाको रुन्टीगढी गाउँपालिका(७ स्थित होलेरी हाटबजारको एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार गए राति करिब १ बजे इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाखालबाट नगद १ लाख १७ हजार ७ सय ५० रुपैयाँ र तीन गड्डी तास बरामद गरेको सूचना अधिकारी चन्दले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका-६ का २६ वर्षीय टोपबहादुर बोहरा, २१ वर्षीय प्रकाश बुढाथोकी, ३० वर्षीय शान्तराज रेउले र २३ वर्षीय कुलबहादुर रेउले रहेका छन्।
त्यस्तै, रुन्टीगढी-७ का ५५ वर्षीय ज्ञानबहादुर थापा, ३६ वर्षीय महेन्द्र घर्ती, ३९ वर्षीय नरसिंह रोका र होटल सञ्चालक ५० वर्षीय दिलबहादुर खड्का, रुन्टीगढी-५ का २४ वर्षीय देविराम विक तथा रुन्टीगढी-८ का ३२ वर्षीय नरबहादुर बस्नेत रहेका छन् ।
पक्राउ परेका १० जनालाई इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


