…र अबदेखि विजयी हुनेछैनन् उनीहरू ।
उनीहरूका शरीरबाट
यही युगको दुर्गन्ध आउँछ
उनीहरूका अनुहारमा
निरङ्कुशताको धर्सो देखिन्छ ।
निमुखाको निर्दोष आँखा
र नाङ्गो छातीका चिसा सुस्केराहरू
उनीहरूका हैकमवादी बुद्धिले बुझ्दैन
छापामार योद्धाको उध्रिसकेको हरियो कम्ब्याट ड्रेस
र अपूरो सपनाको कथा
उनीहरूका विचारले समेट्दैन ।
त्यसैले अबदेखि विजयी हुनेछैनन् उनीहरू ।
उनीहरूलाई थाहा छैन
विचारको पुस्तक जलाउँदैमा
जल्दैन कथावस्तु
सत्तामा बसेर हल्ला गर्दैमा
दब्दैन आवाज
न्यायको बाटोमा काँडेतार लगाउँदैमा
छेकिँदैन अपराधको बतास ।
थाहा छैन उनीहरूलाई
पसिना बग्ने खेतबारीको निधारमा
उनीहरूले बर्साएको लाठोले
मर्दैन जीवन ।
उनीहरूले छ्यापेको रातो रगतले
माटोको रङ पखालिँदैन ।
बिस्तारै रहस्य खुल्दैछ –
उनीहरूले अलापिरहेका गीत
उनीहरूले लेख्न तम्सिएको इतिहास
र उनीहरूले भनिरहेका सत्य
जम्मै उनीहरूको होइन ।
सत्तामा पुग्नका लागि
उनीहरूलाई डोऱ्याउने हात
उनीहरूलाई पार गराउने खुड्किलाहरू
र उनीहरूलाई दिइएको साथ
ती सब अर्कैका हुन् ।
त्यसैले अबदेखि विजयी हुनेछैनन् उनीहरू ।
अब त
उनीहरूका आँखाले नदेख्ने
सगरमाथाको टाकुरामा
एउटा अर्को खुल्ला आकाश उघ्रिनेछ ।
तर उनीहरूले बुझ्दैनन्
र पत्याउँदैनन्
कि जनतासँग यस्तो शक्ति हुन्छ
जहाँ मृत्यु पनि हारेर जान्छ ।


