कविता :

बेलुनहरू !

ए, बेलुनहरू !
उचाइमा छौँ
आकाश चुम्न खोज्दै छौँ
उत्साहमा छौँ
विजयोत्सवमा छौँ
जाऊ, जाऊ, अझै माथि
मनाऊ उत्सव
विजयको।

हावा भरिएका छौँ
तिमीहरू
कोही दम्भको
कोही घमण्डको
कोही पाखण्डको, कोही बैँसको
त कोही पैसाको
हो, तिमीहरू
हावा भरिएका छौँ
यस्तै यस्तै
अनेक प्रकारका हावाहरू।

कोही आकस्मिक उडान भर्दै छौँ
त कोही नियोजित उडान
उडान जस्तोसुकै होस्
वाष्पयुक्त छ, तिम्रो उडान
माटो बिर्सदै छौँ
धरातल बिर्सदै छौँ
जननी बिर्सदै छौँ
जन्म अनि मृत्यु बिर्सदै छौँ।

कोही मदयुक्त उडान,
कोही अहंकारयुक्त
जसमा
मौलिक ऊर्जा छैन
पत्थरीलो अडान छैन
गर्भिलो आँट छैन
जसमा छ त मात्र
ऊध्र्वचापयुक्त ऊर्जा
पछुताउने छौँ तिमी
हो, पछुताउने छौँ
जब प्याट्ट फुट्नेछौ
भुइँमा बजारिनेछौ
बल्ल बुझ्नेछौ
या, बुझ्न पनि बाँकी रहनेछैनौ
अस्तित्वशून्य।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस