देशमा प्रधानमन्त्री बँदलिदै गर्दा
म भित्र पलाउँछन् – अनेक अनेक रहरहरु ।
अनौठो कुरा यो छ कि
यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसँग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
देशमा बदलिँदा त प्रधानमन्त्री
म भित्र पलाउँनु पर्थ्यो यस्तो रहर कि
प्रधानमन्त्रीसँग बसेर
देशकै सिमाना अथवा एअरपोटमा
कुरा गर्न मन हुनुपर्ने
किन खुम्चिरहेछ देश?
किन बढिरहेछ देशमा गरिवी?
कसरी सकिन्छ घटाउन वैदेशिक ऋण?
के हुन सक्छ रोक्ने उपाय
लाखौँ युवाहरुको यो विदेश पलायन?
तर यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसँग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
देशमा बदलिँदा त प्रधानमन्त्री
म भित्र पलाउनु पर्थ्यो यस्तो रहर कि
प्रधानमन्त्रीसँग बसेर
सुदुर गाउँको कुनै चिया पसलमा
कुरा गर्न मन हुनुपर्ने
विपीको समाजवाद किन फक्रेन यो देशमा?
मदनको जवजमा के के पो थिए र अफ्ठेराहरु?
किन तर्सन्छन् पुँजीपतिहरु
मार्क्स, लेनिन अथवा माओको नाम सुन्नासाथ?
तर यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसंग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
देशमा बदलिँदा त प्रधानमन्त्री
म भित्र पलाउनुपर्थ्यो यस्तो रहर कि
प्रधानमन्त्रीसँग बसेर कुनै पार्कमा
कुरा गर्न मन हुनुपर्ने
कुन हो अन्तिम पटक पढी सकाएको पुस्तक ?
अथवा, कुन छ हात र झोलामा?
तर यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसँग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
देशमा बदलिँदा त प्रधानमन्त्री
म भित्र पलाउनु पर्थ्यो यस्तो रहर कि
प्रधानमन्त्रीसँग बसेर
कुनै घाट जस्तो शुनसान विद्यालयमा
कुरा गर्न मन हुनुपर्ने
कसरी बनाउन सकिन्छ
एक विद्यालयलाई असल विद्यालय?
मुर्दाघर जस्तो अस्पतालमा बसेर
कुरा गर्न मन हुनुपर्ने
कसरी बनाउन सकिन्छ
अस्पताललाई एक जीवन घर ?
मृत्युको अर्को नाम बनेका गाडीमा बसेर
कुरा गर्न मन हुनुपर्ने
कसरी बनाउन सकिन्छ
सडकलाई भरोसाको एक विम्व ?
तर यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसँग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
देशमा बदलिँदा त प्रधानमन्त्री
म भित्र पलाउनु पर्थ्यो यस्तो रहर कि
प्रधानमन्त्रीसँग बसेर सर्वोच्चकै आँगनमा
कुरा गर्न मन हुनुपर्ने
कानुन किन बनेको छ
गरिवलाई शोषण गर्ने लाइसेन्स ?
हिमालकै काखमा बसेर
कुरा गर्न मन हुनुपर्ने
किन बन्दैछन् हिमालहरु केवल काला पत्थर ?
नदिकै किनारमा बसेर
कुरा गर्न मन हुनुपर्ने
किन बन्दैछन् यी नदीहरु तस्करका पेवा?
झुपडीमा बसेर एकरात
कुरा गर्न मन हुनुपर्ने
किन सकिएन सुकुम्वासीलाई नागरिक मान्न ?
अथवा, किन भन्छन् धनीहरु
गरिवलाई अपराधी र गरिवीलाई अपराध ?
तर यसपटकको रहर छ आत्मघाति
कहिल्यै रक्सी नखाने मलाई
प्रधानमन्त्रीसँग बसेर एक साँझ
रक्सी खाने रहर पलाएको छ ।
त्यसो त भएको छैन मेरो भेट
कुनै प्रधानमन्त्रीसँग
पुरा होस् या नहोस्
सुनेर मेरो रहर
कसैले तेर्साए पनि तेर्साओस् बन्दुक मेरो छातितिर
कसैले तेर्साए पनि तेर्साओस् तरबार मेरो गलातिर
तर देशमा बदलिँदा प्रधानमन्त्री
म भित्र पलाइरहन्छन् अनेक रहरहरू
के मेरो यो प्रथम र अन्तिम पटक
रक्सी खाने रहर पुरा होला ?


