
२४पुष, रोल्पा । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको लुङ्ग्री गाउँपालिका–७ हार्जङका सुरेश घर्तीको मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।
शनिवार घर्तीकै घरमा पुगी प्राइम लाइफ इन्स्योरेन्स रोल्पा शाखाका प्रबन्धक टिकाराम जिसीको उपस्थितिमा लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले घर्तीकी पत्नी निमा घर्तीलाई ११ लाख रुपैयाँ रकम हस्तारण गरेका हुन् । ३७ वर्षका घर्तीको दाउरा काट्न गएको बेला गत दुई महिना अघि लडेर मृत्यु भएको थियो ।
घर्तीले गत २ वर्ष अघि गरेको विमाको १० लाख र क्रिया खर्च बापत् १ लाख गरी ११ लाख भुक्तानी गरिएको बताइएको छ । रकम हस्तान्तरण गर्दै लुङ्ग्री गाउँपालिका अध्यक्ष खड्काले दुःखको समयमा विमा कम्पनीले दिएको यो रकमले परिवारलाई ठूलो राहत पुगेको भन्दै विमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखा प्रबन्धक जिसीले सो रकमले दुःखमा थोरै भएपनि राहत प्रदान गर्ने विश्वास व्यक्त गरे । सुख दुखमा आवश्यक पर्ने भएकाले विमा बारे सबै नागरिकले बुझ्नुपर्ने उनको भनाई छ ।