
२८पुस, रोल्पा। रोल्पाको लिबाङमा खोरेत रोग विरुद्धको भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको आयोजनामा लिबाङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रममा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. शंकर न्यौपानेले खोरेत रोगका लक्ष्यण, रोकथाम र उपचार बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। डा. न्यौपानेले खोप अभियानमा खटिने प्राविधिकहरुलाई खोप लगाउदा ध्यान दिनुपर्ने कुराहरु र प्राथमिकताका क्षेत्रहरुलाई कसरी छनोट गर्ने लगायतका बारेमा जानकारी गराए।
रोल्पामा चौथो चरणको खोप अभियान अन्तर्गत ३५ हजार बढी पशुचौपायलाई खोरेत विरुद्धको खोप लगाईने डा. न्यौपानेले बताए। माघको दोस्रो साता देखि जिल्लाका दशवटै स्थानीय तहमा खोप अभियान सुरु गरिने उनले बताए ।
कृषकको घरघरमै पुगेर गाई, भैँसी लगायतका पशु चौपायलाई खोरेत रोग विरुद्धको खोप लगाइने छ । दशवटै स्थानीय तहमा ५० जना पशु प्राविधिकहरु परिचालन गरीने विज्ञ केन्द्रले डा. न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले पहिलेको तुलनामा अहिले मानिसहरुले पशुचौपाय पाल्नै छोडेको बताइन ।
पशुचौपाय पालेका किसानहरुले पनि पशुको आवश्यक हेरचाह नगर्ने, खोप लगाउने कुराहरुमा पनि ध्यान नदिने हुँदा किसानहरुले विभिन्न समयमा क्षती बेहोर्ने गरेको बताइन्।
भेटेरिनरी अस्पतालले गत वर्षहरुमा संचालन गरेको खोरेत विरुद्धको खोप अभियानले किसानलाई धेरै राहत मिलेको बताउँदै चौथोँ चरणको खोप अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न उनले आग्रह गरिन ।
लुम्बिनि प्रदेशका कतिपय जिल्ला खोरेत रोग उन्मूलन जिल्ला घोषणा भएको बताउँदै रोल्पालाई पनि खोरेत रोग उन्मूलन जिल्ला घोष्णा गर्ने तर्फ सबै लाग्नु पर्ने आचार्यले बताइन।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुविना सुनारीमगर, दशवटै स्थानीय तहका पशु शाखा प्रमुख, पशु प्राविधिक लगायतको सहभागिता रहेको थियो ।