
७ माघ, रोल्पा । रोल्पामा पहिलो पटक स्नातकोत्तर तहको पढाइ सञ्चालन हुने भएको छ । जलजला बहुमुखी क्याम्पस लिबाङले स्नाकोत्तर तहको पढाइ सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
स्नाकोत्तर तह अध्ययनका लागि बाहिरिने विद्यार्थी रोक्न र आर्थिक समस्याका कारण बाहिर जान नसकेकालाई पढाइमा अवसर दिनका लागि उच्च तहको कक्षा सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षत्रीले बताए ।
क्याम्पसले यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी मध्यपश्चिम विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहको सम्बन्धन पाएको खड्काले जानकारी दिए।
क्याम्पसले अहिले प्रवेश परीक्षाका लागि आवेदन समेत खोलेको छ। जसका लागि माघ १९ गतेसम्मको समय तोकिएको छ। माघ २१ गते दिउँसो प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।
प्रवेश परीक्षा पास हुने विद्यार्थीले माघ २३ गतेदेखि फागुन ३ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ। फागुन ५ गतेबाट कक्षा सञ्चालन हुने क्याम्पसले जानकारी दिएको छ ।
क्याम्सपले अहिले मानविकी, व्यवस्थापन र शिक्षा संकायतर्फको स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ । रोल्पामा स्नाकोत्तर तहको पढाइ नहुँदा विद्यार्थीहरु दाङ, बुटवल, काठमाडौँ लगायतका सहरमा जानुपर्ने बाध्यता थियो ।