
रोल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले साढे बाइस किलो अखाद्य मासु जफत गरी नष्ट गरेको छ । भने तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लिबाङमा सञ्चालित फ्रेसहाउस, मासु पसल अनुगमन गर्ने क्रममा मापदण्ड विपरित खुला र अव्यवस्थित रूपमा मासु बिक्री गर्दै गरेको अवस्थामा रोल्पा नगरपालिका वडा नम्बर २ सात्तालेडाँडा स्थित पेरिस फ्रेस हाउसबाट साढे बाइस किलो मासु जफत गरी नष्ट गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।
खुला ठाउँमा मासु बिक्री गर्दै गरेको अवस्थामा पसलबाट राँगाको मासु जफत गरी सो मासु नष्ट गरिएको भेटेरिनरी अस्पतालका प्रमुख डा. शंकर न्यौपानेले बताए । उनले भने मापदण्ड विपरित अखाद्य मासु बिक्री गर्ने तीन जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका छौँ ।
हामीले यसअघिको अनुगमनका क्रममा खुला ठाउँ र मापदण्ड विपरित मासु बिक्री नगर्न भनेका थियौं । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो,’ उनले भने, ‘खुला ठाउँ, सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत नष्ट गरिएको हो ।’
जफत गरिएको मासु जिल्ला प्रशासन कार्यालय रोल्पाका अम्मर केसी, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रेमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक लेखा कार्की लगायतको रोहबरमा नष्ट गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।
