रोल्पामा दुई वटा कोल्ड स्टोर सञ्चालनमा आउँदै

१३माघ,रोल्पा । रोल्पामा दुई वटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

तरकारीको पकेट क्षेत्र मानिएको रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको कोल्ड स्टोर अबको केहि दिनमै हस्तान्तरण गर्ने गरी काम भइरहेको कोल्ड स्टोरको सुपरीवेक्षण गरिरहेका इञ्जिनियर सुरेश घर्तीमगरले जानकारी दिए ।

‘दुबै कोल्ड स्टोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ’ इञ्जिनियर घर्तीले भने ‘अबको केहि सातामै कोल्ड स्टोर सञ्चालनमा आउने गरी काम भइरहेको छ ।’

प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहबनस्थित कोल्ड स्टोरको क्षमता ५०० मेट्रिक टन रहेको छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ ।

कोल्ड स्टोर निर्माण भएसँगै यस क्षेत्रका किसानहरु हर्षित भएका छन् । यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा विक्री गर्न सकिने भएपछि आफूहरु हर्षित भएको साना किसान सहकारी संस्थाकी अध्यक्ष प्रमिला पुनने बताए । ‘यस अघि वर्षायाममा उत्पादित तरकारीले बजार नपाएर हैरान हुने गरेका थियौं’ पुनले भने ‘अब उक्त समस्या हट्ने भएपछि हामी खुसी छौं ।’

यस्तै स्याउ, किबी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुश गरेका छन् ।

कोल्ड स्टोरले यहाँ उत्पादन हुने स्याउ र आलुले राम्रो मूल्य पाउनेमा आफूहरु ढुक्क भएको किसानका लागि कृषक समूहका अध्इक्ष अमृत केसीले बताए । ‘यसअघि कुहिने डरले सस्तो मुल्यमै स्याउ बेच्दै आएका थियौं’ केसीले भने ‘अब हामीले बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न पाउने भएका छौं ।’

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस