नमूना बालविकास केन्द्र निर्माण गर्ने प्रतिवद्धता

१३ माघ, रोल्पा । बालविकास शिक्षकहरुले नमूना बालविकास केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । बालविकास शिक्षकको १० दिने क्षमता अभिवृद्धि तालिमपश्चात् उनीहरुले नमूना बालविकास केन्द्र बनाउने बताएका हुन् ।

हुुरेक नेपालले त्रिवेणी गाउँपालिका रोल्पामा शिक्षकहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरेको हो । यूनिसेफ, यूएसएआइडीको आर्थिक तथा प्रविधिक सहयोग, त्रिवेणी गाउँपालिका रोल्पाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाद्वारा संचालित कोभिड¬—१९ शिक्षा प्रतिकार्य प्राविधिक सहयोग अन्तरगत बालविकास शिक्षकहरुका लागि सो १० दिने क्षमता विकास अभिवृद्धि तालिम भएको कार्यक्रम संयोजक धरेन्द्र डाँगीले बताए ।

सोही कार्यक्रम अन्तरगत दुई चरणमा गरी गाउँपालिका भित्रका ३२ जना बालविकास शिक्षकहरुको १० दिने क्षमता विकास तालिम गरिएको हो ।

राष्ट्रिय सेतो गुराँसका प्रशिक्षक टीका कुमारी बुढा र रामप्रिया बुढाले सो तालिमको सहजीकरण गरेका थिए । तालिमा बालविकासको पाठ्यक्रम, बालविकासको दैनिक कार्य तालिकाको प्रयोग, छ कुना सिकाइ केन्द्र, खेलौना निर्माण, स्थानीय सामग्रीहरुको निर्माण र प्रयोग, सुक्ष्म नमूना अभ्यास लगायतका विषयमा छलफल भएको थियो ।

तालिममा बालबालिकाको निर्माणात्मक मूल्यांकनलाई जोड दिइएको थियो । तालिममा सहभागी बालविकास शिक्षकहरुले आगामी दिनमा बालविकास केन्द्रहरुलाई सुधार गर्दैै जाने र नमूना बनाउने प्रयास गर्ने बताएका थिए । उनीहरुले बालविकास केन्द्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने सबैमा आग्रह गरे ।

त्रिवेणी गाउँपालिकाले थालेको शैक्षिक सुधार अभियान अन्तरगत हुरेक नेपालले शिक्षा र बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । विगतको कोरोना महामारीले गर्दा विद्यालय बन्द हु्दा बालबालिकामा परेको सिकाइ उपलब्धी क्षतिलाई न्यूनीकरण गर्न यूनिसेफको सहयोगमा त्रिवेणी गाउँपालिकामा टोल शिक्षा संचालनमा रहेको छ । तालिममा सम्बोधन गर्दै त्रिवेणी गाउँपालिका संस्थापक अध्यक्ष शान्तकुमार वलीले प्रारम्भिक बालविकास केन्द्रलाई सबैबाट पहिलो प्राथमिकता पर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस