
१४माघ, रोल्पा। संघीय सरकार मातहतमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले २५ जनाभन्दा धेरै मान्छे जम्मा भएर कुनै कार्यक्रम नगर्न निर्देशन गरेको छ ।
सिसिएमसीकै निर्देशानुसार जिल्ला प्रशासनले जारी गरेको आदेशमा पनि अत्यावश्यक कार्यक्रम गर्नैपर्ने भए २५ जनाभन्दा कम त्यसमा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने भनिएको छ । तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकार र प्रशासनको निर्देशनलाई उल्लङ्घन गर्दै सभामुख पूर्ण बहादुर घर्ती, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा सहितको जम्बो टोली लिएर उद्घाटन र सभा गर्दै हिडिरहेका छन् ।
मुख्यमन्त्री केसीले विहिवार मात्रै रोल्पाको कोटगाउँ प्रहरी चौकीको भवन उद्घाटन गरे । २५ जना भन्दा तेब्बर संख्यामा भिड जम्मा गरेर गरिएको प्रहरी भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य मापदण्डको कुनै पालना भएको देखिएन ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले त झन ठाडो चुनौति नै दिएर मास्क समेत नलगाई भिडमा खुलम खुल्ला उपस्थिति जनाएका थिए । यस्तै मुख्यमन्त्री केसीको जम्बो टोली र प्रमुख जिल्ला अधिकारी सापकोटा शुक्रवार विहान लिबाङमा आयोजित प्रेस सेन्टर रोल्पाको कार्यक्रममा पनि सहभागी भएका थिए ।
निरिह प्रमुख जिल्ला अधिकारी
रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा पनि सिसिएमसी र प्रशासनको आदेश विपरित उद्घाटन सभामा सहभागी भएका छन् । आफैले नेतृत्व गरिरहेको जिल्ला प्रशासनको आदेशको खिल्ली नै उडाउने गरी प्रमुख जिल्ला सापकोटा पनि उक्त प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । यस्तो परिस्थितिमा कार्यक्रम नगर्न सुझाव दिनुको सट्टा प्रजिअ आफै सहभागी हुनु दुखद भएको जनस्वास्थ्य विद्को भनाई छ ।
कोरोनाको हट स्पट बन्दै रोल्पा
पछिल्लो केहि दिनको कोरोना परिक्षणको विवरण हेर्दा रोल्पामा कोरोना संक्रमण दर ह्वात्तै बढेको देखिन्छ । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीका अनुसार अस्पतालमा दैनिक हुने एन्टिजेन परिक्षणमा ६० देखि ९० प्रतिशतमा कोरोना देखिने गरेको छ । ओमिक्रोनको लहर सुरुभए यता रोल्पा अस्पतालमा झण्डै २ सय जनाको एन्टिजेन परिक्षण गर्दा ढेड सय बढीमा संक्रमण देखिएको छ ।
कोरोना संक्रमण भएर पनि परिक्षण नगर्नेहरुको संख्या झन धेरै भएकाले पनि जिल्ला कोरोको हट स्पट बन्दै गएको चिकित्सकहरुको भनाई छ । यसरी नै दैनिक कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिरहदा प्रशासनकै संलग्नतामा सभा कार्यक्रम गर्नु गम्भीर लापरबाही भएको डाँगीको भनाई छ ।
‘शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एनजिओकर्मी, जनप्रतिनिधि सबैलाई कोरोना देखिएको छ’ डाँगीले भने ‘सरकारको निर्देशन सबैभन्दा बढी यिनिहरुले नै मान्नुपर्ने हो तर तिनै अटेरी बनेपछि कोरोना फैलिनुमा पनि यिनै प्रमुख जिम्मेवार हुन’ ।