मास्क नलगाउने ७ हजारलाई जेल

१६माघ, हेटौंडा । नेपालीहरुको वैदेशिक रोजगारीको एक प्रमुख देश कतारको सरकारले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने ७ हजार २ सय ४० जनालाई पक्राउ गरेर कारबाही गरेको छ । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कतार सरकारले घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।

घरबाहिर निस्कँदा वा सार्वजनिकस्थानमा मास्क नलगाउनेलाई नियम उलंघन गरेको भन्दै पक्राउ गरी कारबाही गरिएको त्यहाँबाट हेटौंडेली सञ्चारकर्मी अनिल पराजुलीले जनाएका हुन् । मास्क नलगाउनेलाई तीन वर्ष जेल वा दुई लाख रियालसम्म जरिवाना हुनसक्ने कतारी कानुन रहेको उनले बताएका छन् । निजी सवारीमा ४ जना भन्दा बढी बस्ने २ सय ७७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको राष्ट्रियता भने त्यहाँको सरकारले खुलाएको छैन । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४९ हजार ९ सय ३३ पुगेको छ । कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार २ सय ५१ संक्रमणमुक्त भएका छन् ।

कतारले १३ लाख ६८ हजार ९ सय ६४ जनाको कोरोना जाँच गरिसकेको छ । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् छन् ।
संक्रामक रोगसम्बन्धि मन्त्रिपरिषद् निर्णय र १९९० को कानुन नम्बर–१७ बमोजिम कोरोना भाइरसको फैलावट सीमित राख्न अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उलंघन गरेको आरोपमा हालसम्म २ सय ९ जनालाई सार्वजनिक अभियोजन मुद्धा चलाइएको उनले जनाए ।

कोरोना भाइरस फैलावट रोक्न कतार सरकारले जारी गरेको सावधानी तथा रोकथामको सम्पूर्ण नियमहरु पालना गर्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । कतारले निःशुल्करुपमा कोरोना खोप दिएको छ । सबैलाई प्राथमिकता आधारमा लगाइने र खोप लगाउनेलाई पनि मास्क अनिवार्य र सामाजिक दुरी कायम गर्न भनिएको छ । नेपाल समाचारपत्र दैनिक

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस