म्यानमारकी नेतृ आङ सान सू ची पक्राउ

१९ माघ,काठमाडौँ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई सेनाले पक्राउ गरेको छ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ परेकी हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

आज हुन लागेको संसद्को बैठक पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन्।

नेताहरुलाई पक्राउ गरिएसँगै राजधानी याङ्गु्नमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। सेनाले धेरै स्थानका मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस