रोल्पा। रोल्पामा गाईभैँसीमा बाझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बाझोपन हटाउई कृषकलाई प्रोत्साहित गर्न गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो ।
विज्ञ केन्द्रले ‘डोर टु डोर’ उपचार सेवामा पशुमा देखिएको समस्याहरूको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने गरेको हो ।
विज्ञ केन्द्रले शनिबार रोल्पा नगरपालिका वडा नम्बर ३ खुमेलमा २३ वटा भैँसीको उपचार गरेको छ । भने आइतबार सोही नगरपालिकाको वडा नम्बर ७ माडिचौरमा ३ वटा गाई २२ वटा भैँसीको उपचारसँगै निःशुल्क औषधी समेत वितरण गरेको छ ।

कृषकहरूलाई व्यावसायिक रूपमै गाईभैँसी पालनका लागि प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए ।
‘प्रजनन विकृति तथा बाझोपन निवारणका लागि कृषकको घरदैलोमै गएर उपचार गरिएको हो । गाईभैँसीको बाँझोपनको उपचार तथा, आन्तरिक परजीवीका कारण पशुमा लाग्ने रोग विरुद्धका औषधि वितरण गरेको उनले बताए। ’
पशुमा लम्पी स्किन, खोरेत तथा अन्य विविध रोग लाग्नुका साथै पशुलाई दिइने पौष्टिक तत्व र सन्तुलित आहारा नहुँदा सन्तुलित पोषण अभावका कारण बाँझोपनको समस्या बढी रहेको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका डा. खगेन्द्रराज सापकोटाले बताए । रोल्पाका पशु प्राविधिकहरूलाई ज्ञानको अभाव रहेको छ, सरकारले पशु प्राविधिकका ज्ञान वृद्धि गराउन तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

‘उत्पादनशील पशु वृद्धि हुँदै जाँदा बाझोपनको समस्या नियमित रुपमा बढ्दै जानु स्वभाविक हो । तर रोल्पामा व्यावसायिक पशुपालन नभएको अवस्थामा पौष्टिक तत्व र आहार व्यवस्थापन नहुँदा बाझोपन बढेको उनले बताए ।’ उनले पशुको उपचार र आहार व्यवस्थापनमा कृषकले समेत ध्यान दिन जरुरी रहेको बताए ।
घरदैलोमै पशुको उपचार गर्न पाउँदा किसानहरू खुसी भएको बताएका छन् । रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौरकी किसान त्रिपनी बैजालीले घरदैलोमै आफूले पालेको गाईको उपचार गर्न पाउँदा खुसी लागेको बताइन ।

उनले सेवालाई जिल्लाभर बिस्तार गर्नु पर्नेमा जोड दिइन्। आफूले पालेको गाईमा प्रजनन नहुने समस्या रहेको र विज्ञ केन्द्रबाट उपचारसँगै निःशुल्क औषधि पाएको उनले बताइन । समयसमयमा यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने भनाइ छन् ।

रोल्पा नगरपालिकाको व्यवस्थापन र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको विज्ञ केन्द्रले जनाएको छ ।



