रोल्पा नगरपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने

रोल्पा नगरपालिकाले ‘रोल्पा नगर एक घर एक रोजगार’ कार्यक्रम अन्तर्गत रहेर निःशुल्क प्राविधिक शिक्षा छात्रबृत्ति प्रदान गरिरहेको छ । यस आर्थिक वर्षमा विभिन्न विधामा गरी एकसय जना कोटा छात्रबृत्तिका लागि आह्वान गरेता पनि ५८ जनाले मात्रै छात्रबृत्ति कोटामा नाम निकाल्न सफल भएका छन् । जसमध्ये १६ जनाले बाली विज्ञान, २३ जना सिभिल ओभरसियर, ५ जना ओभरसियर, १४ जनाले पशु विज्ञानतर्फको अध्ययन गरिरहेका छन् ।

निःशुल्क प्राविधिक शिक्षा छात्रबृत्तिमा छनोट भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण तथा अभिभावकहरुसँग सम्झौता कार्यक्रम सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरलाई शैक्षिक हबको रुपमा परिणत गर्नका लागि थालिएको विभिन्न प्रयास अन्तर्गतको महत्वपूर्ण कार्यक्रममाभित्र रहेको एक घर एक प्राविधिक निःशुल्क शिक्षाले भोलिका दिनमा राम्रो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नगरपालिकाले लगानी गरेको निःशुल्क शिक्षाको उपलब्धि हासिल गर्न सबै विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

२ करोड बराबरको लगानी गरेर नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको भन्दै नगर शिक्षा शाखा प्रमुख महेन्द्र पराजुलीले नगरको लगानीलाई खेर जान नदिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले अभिभावकले पनि आफ्ना बालबच्चालाई निगरानी गर्न र नगरको उद्देश्य परिपूर्तीका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । बिगत ४ वर्षदेखि रोल्पा नगरपालिकाले विभिन्न विषयमा निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा बालकल्याण नमुना मा.बि.का प्रधानाध्यापक मधुसुदन पोख्रेलले नगरपालिकाले प्रदान गरेको निःशुल्क प्राविधिक शिक्षाको योगदानको प्रशंसा गर्दै विद्यार्थीले पनि आफ्नो अथक मेहनत गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा बाल कल्याण नमुना माविका इन्जीनियर विवेक सेन र रोल्पा पोलिटेक्निक इन्ष्टीच्यूटका सन्दीप आचार्यले आफ्नो विद्यालयको प्रस्तुतीकरण राख्नुभएको थियो ।

रोल्पा नगरपालिका ५ नम्बर वडा अध्यक्ष तोपबहादुर नेपाली, छात्रबृत्ति प्राप्त गरेका विद्यार्थी, अभिभावकहरुको सभागितामा आयोजित कार्यक्रमको सञ्चालन नगर शिक्षा कार्यालयका शाखा अधिकृत कर्ण पुनले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा निःशुल्क छात्रबृत्ति अध्ययनका लागि बनाईएको मापदण्डभित्र रहेर नगरपालिका, अभिभावक र विद्यार्थीहरुको त्रिपक्षीय सम्झौता समेत गरिएको थियो ।

-सनस्टार साप्ताहिकबाट

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस