पर्यटन प्रवर्द्धनका लागि लिबाङ–जलजला हेलिकप्टर

२९माघ, रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि सदरमुकाम लिबाङदेखि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो । लिबाङ–जलजला पर्यटन उडानको शनिवार एक कार्यक्रमकाबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरे ।

फिस्टेल एयरको नाइन् एन-एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरु संगम रोका र उनका परिवारलाई रोल्पा नगरपालिकाका मेयर केसी र उपमेयर मनकुमारी घर्तीले फूलमाला लगादिएर पर्यटन उडानको शुभारम्भ गरिएको हो ।

हवाई यात्राको पहिलो दिन शनिबार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले जानकारी दिए । लिबाङ-जलजलाकाे लागि प्रतिव्यक्ति १८ हजार ५ सय ताेकिएकाे छ ।

पर्यटन प्रवद्र्धनका लागि जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाई छ ।

‘जलजला पुग्ने धेरैको चाहना हुन्छ’ पनुले भने ‘तर सडकको सहज पहुँच नभएको हवाई यात्रा पर्यटकको रोजाईमा परेको हो ।’ अहिले हिउँ परेकाले पनि जलजला पुग्न सडकको यात्रा झन कठिन हुने गरेको छ ।

पोबाङ, सुलिचौर र लिबाङबाट उडान

उक्त पर्यटन उडानका लागि जिल्लाको तीन स्थानबाट उडानको व्यवस्था मिलाइएको छ । सुनछहरी गाउँपालिकाको पोबाङ, सुलिचौर र लिबाङबाट जलजलाका लागि हेलिकप्टरमा हवाई यात्रा गर्न सकिने बताइएको छ ।

किन जाने जलजला

थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमानामा पर्ने सु्न्दर पहाडमा अवस्थित रहेको छ जलजला । प्राकृतिक रुपमा निकै मनोरम रहेको जलजला धार्मिक रुपमा पनि प्रसिद्ध रहेको छ । अहिले खासगरी जलजलामा हिउँ खेल्ने जानेहरुको भिड हुने गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा देशभरका एक सय गन्तव्यमा परेको जलजला माओवादी जनयुद्धको केन्द्रको रुपमा पनि चर्चित छ । किनकी जलजला माओवादीले द्वन्द्वकालमा माफ्नो सुरक्षित र आधार इलाकाका रुपमा प्रयोग गरेको थियो ।

जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पुजा गर्ने गरिन्छ ।

कोठीभिरमा पनि उडान गरिने

सुनछहरी गाउँपालिका–२ भित्री गाममा पर्ने पर्यटकीय स्थल कोठीभिरमा पनि हेलिकप्टरको उडान गरिने भएको छ ।

समून्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाईमा रहेको कोठीभिरमा अहिले अत्यधिक हिउँ परेकाले हेलिकप्टर बसाल्न नमिलेकाले अहिले त्यहाँ उडान गर्न नसकिएको पुनको भनाई छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस