१फागुन,रोल्पा । जिल्लाको १० वटा पालिका मध्ये एक मात्र नगरपालिका, रोल्पा नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप चुस्त बनाउँदै लगेको छ ।
नगरपालिकाले ऐन, कानुन तर्जुमा, समुदाय परिचालन, राजश्व संकलनमा अनलाइन प्रणाली, न्यायीक कार्य सम्पादन, ५ वर्षे योजना निर्माण जस्ता काम गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको हो ।
नगरपालिकाको यही कामका आधारमा हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) रिपोर्टमा पनि राम्रो अङ्क प्राप्त गर्न सफल भएको छ ।
गत वर्ष जम्मा ५३.७५ अङ्क प्राप्त गरेको नगरपालिका यस वर्ष ६८.७५ अङ्क प्राप्त गरेको हो । यस्तै लैंगिक समानता र सामाजिक समावेशिता (जेसी)मा पनि नगरपालिकाले राम्रो उपलब्धी हासिल गरेको छ । अघिल्लो वर्ष जेसीमा जम्मा ६२ अङ्क हाशिल गरेको नगरपालिकाले यस वर्ष ७१.५ अङ्क हाशिल गरेको छ ।
नगरपालिकाले दुग्ध सहकारी, युवा क्लव, महिला समूह परिचालन, नगर पुस्तकालय ऐन, नगर प्रहरी ऐन, युवा नीति जस्ता दर्जन बढी ऐन कानुन यसै वर्ष बनाएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले बताए ।
यस्तै सेफ हाउस निर्माण, न्याय सम्पादनका लागि २५ जना मेलमिलापकर्ता निर्माण, अनलाइन प्रणालीबाट राजश्व संकलन तथा २५ प्रतिशत वृद्धि पनि नगरपालिकाले गरेका उपलब्धी हुन् । ‘हालै मात्र हामीले नगर प्रहरी भर्ना पनि गरेका छौं’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने ‘यो पनि ४ वर्ष पछि हामीले भर्ना गर्न बल्ल सफल भएका हौं ।’
यस्तै नगरको समग्र विकासका लागि ५ वर्षे विकास योजना पनि निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।


