२फागुन, काठमाडौँ अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनीत लभस्टोरी फिल्म ‘कृष्ण लीला’ युनिटले पहिलो गीत सार्वजनिक गर्दै फिल्म प्रदर्शनको डेट तय गरेको छ । आउँदो चैत २७ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ‘कुनै दिन’ बोलको रोमान्टिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले गरिएको मेहनत देखिएको छ । पूर्वी इलामको चियाबारी आसपासमा खिचिएको गीतको भिडियोमा मेकिङ क्वालिटी पनि उच्च देखिएको छ । दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । अर्जुन जिसीले सम्पादन गरिरहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।