हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री

फाइल फाेटाे

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् ।

वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउँदै उनले यतिबेला नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर रहेको उल्लेख गरेका छन् ।

‘राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकांक्षा पूरा हुनेछ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस