कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

६फागुन, काठमाडौं । १४ औं महाधिवेशनको नयाँ मिति तोक्न भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

महाधिवेशनको नयाँ मिति टुंगो लगाउनका लागि शुरु भएको काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो। बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने तयारी छ ।

बुधबारको बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे समेत छलफल भएको थियो ।

यहि फागुनमा हुने भनिएको कांग्रेसको महाधिवेशन कोरोना भाइरसको महामारीका कारण हुन नसकेपछि अर्को मिति तय गर्न छलफलमा जुटेको हो ।

क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनको तयारी नै हुन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नु पर्ने बताउँदै आएको छ भने सभापति देउवाले भने भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

बैठकमा कांग्रेसले यसअघि गरेको देशव्यापी विरोध प्रदर्शन र बैतडीमा हिजो आफ्ना कार्यकर्तामाथि भएको आक्रमणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस