०७ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका रोल्पाका १० जना उम्मेदवार मध्ये ७ जना उम्मेदवारले अझै बैँक खाता खोलेको छैन ।
फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैँक खाता खोल्नुपर्ने व्यवस्था छ । तर रोल्पाका ७ जना उम्मेदवारले हालसम्म बैँक खाता विवरण पेश गरेका छैनन्।
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा १० राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। तर जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म तीन जनाले मात्र बैंक खाता खोलेका छन्।
बैँक खाता खोल्ने उम्मेदवारमा नेपाली काँग्रेसका डा. सुदनकुमार वली, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका रोल्पाका जिल्ला निर्वाचन अधिकृत शिवकुमार पौडेलका अनुसार नेकपा (एमाले)का उम्मेदवार गोकुलप्रसाद घर्ती, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार कुमार घर्तीमगर, राष्ट्रिय जनमोर्चाका उम्मेदवार मेखबहादुर बिष्ट, नेशनल रिपब्लिक नेपालका उम्मेदवार मनबहादुर घर्तीमगर र नेकपा (माओवादी)का उम्मेदवार चुडामणि वलीले बैँक खाता खोल्न निर्वाचन कार्यालय रोल्पाबाट सिफारिस लगे पनि बैँक खाता विवरण पेश गरेका छैनन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अम्मरबहादुर थापाक्षेत्री र आम जनता पार्टीका उम्मेदवार दिलबहादुर कामीले भने अहिलेससम्म बैँक खाता खोल्न सिफारिससमेत नलिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।
निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च गर्न अनिवार्य रूपमा नयाँ बैँक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारको छुट्टै बैँक खाता खोल्ने व्यवस्था उल्लेख छ ।
जिल्लामा खाता नखोल्ने उम्मेदवारलाई पत्राचार गरिसकिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तुकमान पुनले बताए । खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारहरूले पत्राचारपछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने पुनले बताए ।
एउटा मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको रोल्पा १ लाख ४९ हजार ५ सय ९७ कल मतदाता रहेका छन । भने जिल्लाभर ८६ मतदान स्थल र १८० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।


