रोल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुभारम्भ

९ फागुन, रोल्पा। लुम्बिनी प्रदेशमा  ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको छ । 

रोल्पामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले आफूले  अध्ययन गरेको जनज्योति माध्यमिक विद्यालय गजुलबाट अभियानको  शुभारम्भ गरेका छन् ।  महराले सो विद्यालयमा अध्ययन गर्नुका साथै अध्यापन समेत गरेका थिए । 

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको १७ वटा सामुदायिक विद्यालयबाट अभियानको शुभारम्भ गरिएको छ ।  अभियानका लागि शुक्रबार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा पुगेर शुभारम्भ गरेका थिए । प्रदेशका १ सय ९ वटै स्थानीय तह अन्तर्गतका सामुदायिक विद्यालयमा सञ्चालन हुने छन् । विद्यालयमा सरोकारवालाहरूको सामूहिक सहभागिता विस्तार गरि यसका माध्यमबाट सामुदायिक विद्यालयहरूमा गुणस्तर सुधार गर्न खोजिएको छ।  

‘मेरो विद्यालय मेरो दायित्व’ शैक्षिक अभियानको शुभारम्भ गर्दै पूर्व मुख्यमन्त्री जोखबहादुर महराले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएको प्रति दुख व्यक्त गरे । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए।

‘सबैका लागि शिक्षा होइन अबको शिक्षा गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’ उनले भने । शिक्षकले घरपायक खोज्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएको छ, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सरकारले खटाएको ठाउँमा गएर  शिक्षकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । 

 मेरो विद्यालय मेरो दायित्व अभियान अन्तर्गत विभिन्न व्यक्तिहरूले अक्षयकोष समेत स्थापना गरेका थिए। अभियानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्षको एसईई परीक्षामा नतिजा कमजोर आएपछि शैक्षिक सुधारका लागि यो अभियान थालिएको हो।  यो अभियानको माध्यमबाट विद्यालयमा गुणस्तर सिकाइ अभिवृद्धि गर्न पूर्व विद्यार्थीको अभियानलाई समेट्ने विश्वास गरिएको छ। 

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस