रोल्पामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

१० फागुन, रोल्पा । रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । सनस्टार युवा क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सनस्टार युवा क्लब र मधेश प्रदेश बीच भएको खेलामा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको थियो ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लबलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन सकेन । विभागीय आर्मी क्लबले २५–१६, २५–१७ र २५–१८ मा कर्णाली प्रदेशलाई रोक्दै त्रिभुवन आर्मी क्लब विजयी भएको हो ।

रोल्पाको सदरमुकाम लिबाङमा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजक सहित चारवटा प्रादेशिक टिम सहभागी छन् ।

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा प्रथम हुनेले पाँच लाख राशीको पुरस्कारसहित सनस्टार कप जित्ने छन् । त्यस्तै दोस्रो हुनेले दुई लाख पचास हजार, तेस्रो हुनेले एकलाख र सान्त्वना हुने टिमले पचास हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले बताएका छन् ।

दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस