खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै

११फागुन, काठमाडौँ । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य ९एमआरपी० प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।

विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् ।

दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् ।

खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस