निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह

१३फागुन,काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।

संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।

अहिले कांग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

अध्यक्षद्वय बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका थिए ।

तर, उनीहरूको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गरे ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस